१४ वर्षदेखि अधुरै रहेको हुलाकी सडकअन्तर्गत सिरहा–धनुषालाई जोड्ने कमला पुल अब स्थानीय जनताले नै बनाउने पहल थालेका छन्।
पुल निर्माण नहुँदा लाखौँ मधेशी नागरिकको यात्रा, उपचार, पढाइ र आर्थिक गतिविधि ठप्पजस्तै भएकाले स्थानीयहरू चन्दा उठाउने अभियानमा जुटेका हुन्।
आज कमला पुलमै उपस्थित भएर सामाजिक अभियन्ता तथा पत्रकार रामरिझन यादवसहित अभियन्ताहरूले औपचारिक रूपमा अभियान सुरु गरेका छन्।
उनका अनुसार १४ वर्षअघि सुरु भएको काम बारम्बार म्याद थपिँदै रोकिँदै आएको थियो। २०७८ असारमा आएको बाढीले दुई पिल्लर बगाएपछि समस्या झनै बढेको थियो।
यादवका अनुसार सरकारले लामो समयसम्म पुल पूरा गर्न नसकेपछि अब जनताले नै अगाडि बढ्नु पर्ने अवस्था आएको छ।
केही दिनअघि पुल निरीक्षण गर्न आएका भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई यो अभियानबारे जानकारी दिइएको भए पनि अभियन्ताहरू अझै ढुक्क हुन सकेका छैनन्।
करिब २ अर्ब लागत पर्ने अनुमान भएकाले धनुषा, सिरहा र सप्तरीका परिवारहरूबाट प्रति परिवार १० हजारका दरले चन्दा संकलन, विष्णु महायज्ञ जस्ता कार्यक्रम गर्ने र संकलित रकम सरकारकै कोषमा राख्ने योजना बनाइएको छ।