मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्डमा सडक स्तरोन्नति चलिरहेका कारण दैनिक करिब ६०० जनाले रोजगारी पाइरहेका छन्। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्म सडक, पुल निर्माण र कालोपत्रका लागि यी मजदुर खटिएका हुन्।
आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार दैनिक ६०० जनाको दरले मासिक १८ हजारजना मजदुर संलग्न छन्, साथै २० जना परामर्शदाताले काम गरिरहेका छन्।
हाल पश्चिम खण्डमा ५९.७६% भौतिक प्रगति र ४७.८०% वित्तीय प्रगति भएको छ। ३८.८८ किमि लम्बाइमध्ये ३७.४ किमिमा पहिलो तहको एकतर्फी कालोपत्र पूरा भएको छ। यसमध्ये २९.६१ किमि क्षेत्रमा चार लेन र ७.७९ किमि क्षेत्रमा दुई लेन कालोपत्र सम्पन्न भएको छ।
१२ मध्ये ११ पुल बनिसकेका छन्, सेती नदीको पुल मात्र निर्माणाधीन छ। सो पुलमा करिब ४७% भौतिक र वित्तीय प्रगति भएको छ, र सबै ४ पाइलक्याप तथा १२० पाइल तयार भइसकेका छन्।
गत आर्थिक वर्षमा २५ किमि चार लेन सडक बनाउने लक्ष्य राखिएकोमा २३.०६ किमि कालोपत्र पूरा भएको छ। ११ पुल निर्माण लक्ष्य पनि पूरा भइसकेको छ। कल्भर्ट ६६ मध्ये १ बाँकी छ, र ५१.५ किमि नालामध्ये ४५.२ किमि बनिसकेको छ।
२०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम पुस १६ गतेसम्म सक्ने लक्ष्य छ।