जिल्लाको पश्चिमी क्षेत्रमा रहेको राउते खोलामा पक्की पुल बनेपछि स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको कठिन यात्रा अब सहज बनेको छ।
पहिले पुल नहुँदा जोखिमपूर्ण रूपमा खोलामै हिँड्नुपर्थ्यो, तर अहिले सुरक्षित रूपमा आवतजावत गर्न सकिने भएको छ।
यस पुलले छिमेकी जिल्ला खोटाङ आउजाउ पनि सरल बनाएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए।
उनका अनुसार पुल बनेपछि दैनिकी धेरै सहज भएको छ।
राउते खोलाको यो पुलले साविक वडा–७ राउते र वडा–५ लेखर्कलाई जोड्छ। कोशी प्रदेशको बजेटमा पूर्वाधार विकास कार्यालय भोजपुरले ३ करोड ५७ लाख खर्चेर पुल निर्माण गरेको हो।
१६.२० मिटर लम्बाइको एक स्पानको यो पुल सञ्चालनमा आएपछि स्थानीयले दशकौँको समस्या समाधान भएको बताउँदै आएका छन्।
पहिले बाढी आएमा खोलामा नै बास बस्नुपर्ने बाध्यता थियो, तर अब यातायात पनि सहज रूपमा चल्न थालेको सवारी चालकहरूले बताएका छन्।