रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र निर्माण सकिने भएको छ।
गत असारमा आएको बाढीले पुरानो पुल बगाएपछि दुई देशबीचको आवतजावत पूर्ण रूपमा रोकिएको थियो।
अहिले चिनियाँ पक्षले नयाँ पुलको कामलाई प्राथमिकताका साथ तीव्र गतिमा अगाडि बढाइरहेको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार चिनियाँ अधिकारीहरूसँगको छलफलपछि एक महिनाभित्र पुल तयार हुने र त्यसपछि दुबै पक्षबीच बैठक बसेर सञ्चालन मिति तय गरिनेछ।
चिनियाँ पक्षले खराब मौसमका बाबजुद काम निरन्तर गरिरहेको र कुनै अप्रत्याशित परिस्थिति नआए यातायात सञ्चालन एक महिनाभित्र सुरु हुने जनाएको छ।
पुल बगाएपछि रसुवागढी नाकाबाट हुने आयात–निर्यात ठप्प हुँदा करिब १४ अर्ब रुपैयाँभन्दा बढी राजस्व घाटा भएको भन्सार कार्यालयले जनाएको छ।
यसैबीच, स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा पहिरो र नदी कटानका कारण मर्मत तथा निर्माण कार्य सुस्त भएको छ।
सडक विभाग र विपद् व्यवस्थापन समितिले गुणस्तरीय रूपमा चाँडो काम सम्पन्न गर्न निर्देशन दिएका छन्।