कञ्चनपुर–कमला सडक विस्तार ढिलो

कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नतिको काम दुई महिनामै म्याद सकिँदैछ तर अहिलेसम्म ६७ प्रतिशत मात्रै काम भएको छ।

करिब १५ अर्ब ६६ करोड रुपैयाँ लागतको यो आयोजना सन् २०२० मा चाइना रेलवे कम्पनी–२ इञ्जिनियरिङ ग्रुपले पाएको हो।

सुरुमा २०२३ अक्टोबरसम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि काम समयमै नभएपछि दुईपटक म्याद थपिएको छ।

अहिलेको सम्झौताअनुसार कम्पनीले २०२५ डिसेम्बरसम्म काम पूरा गर्नुपर्नेछ।

सडकलाई पूर्व र पश्चिम गरी दुई भागमा बाँडिएको छ — पूर्वी खण्ड कञ्चनपुरदेखि कुशहा (३९.४२ किमी) र पश्चिमी खण्ड कुशहादेखि कमला नदी (४७.४१ किमी)। विशेषगरी लहान क्षेत्रमा काम निकै ढिलो भइरहेको छ।

इञ्जिनियर सरोजकुमार कोइरालाका अनुसार अण्डरपास, ओभरपास र आकाशेपुलको फाउण्डेसन नबन्दा अन्य काम अघि बढ्न सकेको छैन। साथै, विद्युत् प्राधिकरणका पोल नहट्दा निर्माणमा थप ढिलाइ भएको हो।

ढिलाइका कारण लहान क्षेत्र धुलो, हिलो र जामले ग्रस्त बनेको छ। स्थानीयले असारमा चक्काजामसमेत गरेका थिए।

अहिले मिर्चैयाको अण्डरपास र लहानको ओभरपास निर्माण पुनः सुरु भएको छ।

अन्तिम प्रतिवेदनअनुसार, असार मसान्तसम्म ३९.४२ किलोमिटरमध्ये ३०.८५ किलोमिटर मात्रै कालोपत्र गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *