यहाँका ग्रामीण सडक बर्खाका कारण झन्डै चार महिनासम्म अवरुद्ध भएपछि अहिले सञ्चालनमा आएका छन्। सडक खुलेसँगै तिहारको समयमा सर्वसाधारणलाई आवतजावत र सामान ढुवानी गर्न सहज भएको छ।
दसैँमा सडक खुल्ने अपेक्षा भए पनि लगातारको वर्षा र पहिरोका कारण ढिलाइ भएको थियो। अहिले सडक सञ्चालनमा आएपछि स्थानीयले बजारबाट सामान गाडीमै ल्याउन थालेका छन्।
निसीखोला गाउँपालिका–१ का कर्णबहादुर सुनारका अनुसार, दसैँमा बोकेर सामान ल्याउनुपरेको भए पनि अहिले तिहारका लागि गाडीमै ढुवानी गर्न पाएका छन्।
तमानखोला गाउँपालिकाका नजाखानी, भत्रिवन र पात्ले जोड्ने सडक पनि मेसिन प्रयोग गरेर खुलेका छन्। गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरका अनुसार, अधिकांश सडक सञ्चालनमा आए पनि केही ठाउँमा पानीको बहाव बढी भएकाले सवारीसाधन चल्न सकेको छैन।
निसीखोला गाउँपालिकाले पनि अधिकांश सडक सञ्चालनमा ल्याएको र बाँकी सडक तिहारअघि खुलाउने तयारी भइरहेको जनाएको छ।