खोङटाङ–खावा सडक स्तरोन्नति सम्पन्न

टेम्केमैयुङ गाउँपालिकाको खोङटाङ–हुँगे–चोलन्ती हुँदै खावा भञ्ज्याङ जोड्ने ग्रामीण सडकको स्तरोन्नति सम्पन्न भएको छ।

पहिले सवारीसाधन चलाउन गाह्रो हुने यो सडक अहिले ग्राभेल गरिएको छ। साथै नाली र पर्खाल निर्माण भएपछि सर्वसाधारणका लागि आवतजावत सहज बनेको छ।

वर्षायाममा हिलो र हिउँदमा धुलो हुने समस्या अन्त्य भएसँगै गाउँलेको दैनिकी, आर्थिक गतिविधि र सेवासुविधा पहुँचमा सुधार आएको छ।

करिब ९ किलोमिटर लामो यो सडक ३ करोड ५० लाख रुपैयाँ लागतमा संघीय सरकारको बजेटमा गाउँपालिकाको पहलमा बनाइएको हो।

सडक सुधारपछि किसानले उत्पादन बजारसम्म पुर्‍याउन, विद्यार्थीले विद्यालय पुग्न र बिरामीले स्वास्थ्य संस्थासम्म जान सजिलो भएको छ।

स्थानीय रमेश विष्टका अनुसार सडक सुधारपछि गाडी सजिलै गुड्न थालेको र सबैलाई ठूलो राहत पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *