बिवाइडीले १ करोड ४० लाख गाडी उत्पादन

चिनियाँ अटो निर्माता कम्पनी बिवाइडी (BYD) ले १ करोड ४० लाख गाडी उत्पादन गरेको विशेष अवसरमा ब्राजिलमा एक भव्य कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रम ब्राजिलको बाहिया राज्यस्थित कामाकारी सहरमा रहेको बिवाइडीको सवारी उत्पादन केन्द्रमा सम्पन्न भयो।

सो अवसरमा निर्मित सङ प्रो नामक प्लग–इन हाइब्रिड कार ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा लाई हस्तान्तरण गरिएको थियो।

कामाकारीमा रहेको यो कारखाना एशियाबाहेक बिवाइडीको सबैभन्दा ठूलो र ल्याटिन अमेरिकाको प्रमुख इलेक्ट्रिक सवारी उत्पादन केन्द्र हो। यसमा करिब ९७८ मिलियन अमेरिकी डलर लगानी गरिएको छ।

समारोहमा ब्राजिलका राष्ट्रपति लुला, उपराष्ट्रपति, चिनियाँ राजदूत, र बिवाइडीका अध्यक्ष वाङ छुआनफुलगायतले सहभागीता जनाए।

राष्ट्रपति लुलाले चीन र ब्राजिलबीचको बलियो साझेदारीलाई “ग्लोबल साउथको उदाहरणीय सम्बन्ध” भनेका थिए।

बिवाइडीका अध्यक्ष छुआनफुले भने, “ब्राजिलमा हामी ११ वर्षदेखि सक्रिय छौं।

अहिले यहाँका सडकमा हाम्रा ई–बसहरू सामान्य दृश्य बनेका छन्।”

कम्पनीका अनुसार ब्राजिलमा मात्रै तीन वर्षमा १ लाख ७० हजारभन्दा बढी सवारी बिक्री भइसकेका छन्।

यो उपलब्धिलाई बिवाइडीले आफ्नो वैश्विक विस्तार अभियानको नयाँ अध्यायका रूपमा लिएको छ, जसले विद्युतीकरण र दिगोपनतर्फ सवारी उद्योगमा नयाँ गति दिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *