अविरल वर्षाबाट ४ अर्ब क्षति

असोज १७ देखि १९ गतेसम्मको लगातार वर्षाले देशभरका मुख्य सडक र पुलहरूमा ठूलो क्षति पुर्‍याएको छ।

सडक विभागका अनुसार बाढी र पहिरोका कारण करिब ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

यस मध्ये सडकमा ४ अर्ब ३४ करोड र पुलमा २८ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको छ।

विभागले हालसम्म देशभरका झन्डै २ सय ठाउँको विवरण संकलन गरेको छ र वर्षा अझै भइरहेको कारण क्षति अझै बढ्ने अनुमान गरिएको छ।

पृथ्वी राजमार्गको दमौली–आँबुखैरनी खण्डमा २५ मिटर सडक भासिएको छ भने भक्तपुरको अरनिको राजमार्ग र बीपी राजमार्गका विभिन्न भागमा ४० देखि ४०० मिटर सडक बगाएका छन्।

पाल्पाको सिद्धार्थ राजमार्गमा, गुल्मीको मदन भण्डारी राजमार्गमा र पोखरा–बागलुङ राजमार्गका धेरै ठाउँमा पनि सडक बग्ने र पुल क्षतिग्रस्त हुने घटना भएका छन्।

पोखराको सेती नदीमा रहेको ६० मिटर लामो स्टिल ट्रस पुलमा पनि ठूलो क्षति पुगेको छ, जसको मर्मतका लागि करिब १२ करोड रुपैयाँ लाग्ने बताइएको छ।

गल्छी–त्रिशुली–रसुवागढी सडकमा १५०० मिटर सडक नै बगेर गएको छ।

विभागले यातायातमा थप समस्या नआओस् भनेर तत्काल मर्मत र पुनर्निर्माण सुरु गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *