संघीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने महत्वपूर्ण बीपी राजमार्ग फेरि बाढीपहिरोले थिलथिलो बनेको छ।
असोज १८ र १९ गतेको अविरल वर्षाले काभ्रेपलाञ्चोक क्षेत्रमा राजमार्गका ठूला भागहरू बगाएका छन्।
गत वर्ष बाढीले क्षति पुर्याएपछि अस्थायी रूपमा मर्मत गरिएको सडक यस वर्ष पुनः बाढीले नष्ट गरिदिएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार करीब चार किलोमिटर सडक बाढीले बगाएको छ।
रोशी खोलाको बाढीले गत वर्ष बनाइएको डाइभर्सन पूर्ण रूपमा कटान गरेपछि अहिले अस्थायी रूपमा पुनः सडक खोल्ने काम सुरु गरिएको छ।
राजमार्गको विभिन्न भागमा पुल नबन्दा हरेक वर्ष बाढीको समस्या दोहोरिँदै आएको छ। १७ ठाउँमा सडक क्षति पुगेको र कतिपय ठाउँमा बाटो पूर्ण रूपमा मेटिएको जनाइएको छ।
सरकारले यस राजमार्गको स्थायी पुनर्निर्माणका लागि भक्तपुर र सिन्धुलीका सडक कार्यालयलाई ८ अर्ब रुपैयाँभन्दा बढी बजेट उपलब्ध गराएको छ।
जाइकाको सहयोगमा केही खण्डमा आरसिसी पर्खालसहित दुई लेनको सडक बनाइने योजना छ।
तर, क्षमताभन्दा बढी लोड बोकेर गुड्ने टिपर र भारी सवारीसाधनले पनि सडक संरचना कमजोर बनाएको अधिकारीहरूले बताएका छन्।
दैनिक तीन हजारभन्दा बढी सवारीसाधन यो राजमार्ग प्रयोग गर्छन्।