मूल्यवृद्धिको मारमा उपभोक्ता

संघीय सांसद माधव सापकोटाले तातोपानी इको पहिरोको तत्काल र दीर्घकालीन व्यवस्थापन गर्न नसके आसन्न चाडपर्वमा बजारमा अचाक्ली महँगी बढ्ने बताएका छन्।

‘यो पहिरो स्थानीय समस्या मात्र नभई राष्ट्रिय अर्थतन्त्र र आम उपभोक्ताको भान्सासँग समेत जोडिएको छ’, उनले भने– ‘चाडपर्वको मुखमा नाकाको सडक अवरुद्ध हुँदा बजारमा खाद्य सामग्री, लत्ताकपडा लगायतका वस्तुको अभाव भई मूल्यवृद्धिले आकाश छुने र त्यसको प्रत्यक्ष मार आम नागरिकलाई पर्ने देखिन्छ।

सांसद सापकोटाले तत्काल पहिरो व्यवस्थापनका लागि दीर्घकालीन समाधान खोज्नुपर्ने भन्दै उनले सरकारलाई चिनियाँ अनुदानको उपयोग गर्न सकिने ठोस प्रस्ताव समेत राख्नुपर्नेमा जोड दिए।

तातोपानी क्षेत्रमा उड्किएको कन्टेनरमा रहेका सामान नेपाली व्यापारीको लगानी भएको र त्यो डुब्दा वा बिग्रिँदा सिधैं नेपाल सरकारको पुँजीमा क्षति पुग्ने उनको भनाइ छ।

‘चीनले आफ्नोतर्फ खासा क्षेत्रमा पहिरो व्यवस्थापन गर्न जुन प्रविधि प्रयोग गरेको छ, त्यही प्रविधि र बाँकी रहेको अनुदान रकम प्रयोग गरेर यो पहिरोको दिगो समाधान गर्न सकिन्छ,’ उनले भने– ‘यसका लागि सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्छ।’

समयमै सडक बनाउन सरकारले चासो नदिँदा व्यापारीले दुःख पाउनुको साथै मूल्यवृद्धिले उपभोक्ता मारमा पर्ने व्यवसायीहरू बताउँछन्।

‘सरकारलाई तातोपानी नाका र यहाँको समस्याबारे जानकारी गराउँदा पनि चासो दिएन’ नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटाले भने– ‘सडक निर्माण नहुँदा नजिकिँदै गरेको चार्डपर्वका लागि समयमा सामान नआउँदा बजार महंगो हुने निश्चित छ।’

‘दशैँका सामान जति सबै अड्किएका छन्। लत्ता कपडा पनि लोड भएर बसेको छ तर नेपालमा कन्टेनर राख्ने ठाउँ नभएर ल्याउन सकिएको छैन’, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बस्नेतले भने– ‘एक कन्टेनरको भाडा दैनिक १० रुपैयाँ चिनियाँ व्यवसायी संघलाई तिरेर राखिएको छ, जसले गर्दा सामानमा मूल्य बढ्ने निश्चित छ।’ सरकारले सडक खुलाउन चासो नदिँदा व्यवसायीहरू र उपभोक्ता दुवै मारमा परेको उनले बताए।

आफूहरूले सडक खुलाउनका लागि संघीय अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्री र भन्सार विभाग प्रमुखलाई भेटेर आग्रह गरेको नेपाल हिमालय वाणिज्य व्यापार संघका महासचिव रामचन्द्र पराजुलीले बताए।

‘रसुवा बन्द भएपछि तातोपानी नाकाबाट व्यवसाय गर्न सुझाए पनि तातोपानीमा सडकको थप समस्या आइ परेर झनै समस्या भइरहेको छ,’ महासचिव पराजुलीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *