भियतनामको विद्युतीय सवारीसाधन ब्रान्ड भिनफास्ट (VinFast) ले भारतीय बजारमा औपचारिक प्रवेश गरेको छ, र त्यसपछि नेपालमा पनि यसको आगमन हुने तयारीमा छ।
कम्पनीले मंगलबार (जुलाई १५, २०२५) भारतमा आफ्ना भीएफ७ (VF7) र भीएफ६ (VF6) मोडलको बुकिङ खुला गरेको छ।
भिनफास्टले अगस्टमा भीएफ७ र त्यसपछि भीएफ६ मोडल भारतीय बजारमा लन्च गर्ने तयारी गरेको छ।
कम्पनीले भारतको तमिलनाडुमा रहेको आफ्नो कारखानाबाट भीएफ६ एसेम्बल गर्ने योजना बनाएको छ।
भारतमा आफ्नो बजार विस्तारका लागि भिनफास्टले २७ शहरहरूमा ३२ वटा आउटलेट र १३ वटा डिलरसिप स्थापना गर्नेछ।
नेपालको सन्दर्भमा, भिनफास्टका सवारी साधनहरू यस वर्षको अन्त्यसम्ममा आइपुग्ने अपेक्षा गरिएको छ।
पारामाउन्ट मोटर्स (Paramount Motors) लाई नेपालका लागि आधिकारिक वितरक नियुक्त गरिएको छ र उनीहरू लन्चको तयारीमा जुटेका छन्।
विशाल समूहले भिनफास्टका सवारीसाधनको डिलरसिप लिएको हो। भारतमा उत्पादन भएपछि सवारीसाधन नेपाल ल्याउँदा सस्तो र सुविधाजनक हुने रणनीति कम्पनीको छ।
मुख्य विशेषताहरू:
भीएफ७: यसमा ७०.८ किलोवाट घण्टाको ब्याट्री, २०४ हर्सपावर र एकपटकको चार्जमा ४५० किलोमिटरको रेन्ज छ। यसको लम्बाई ४.५ मिटर र ग्राउन्ड क्लियरेन्स १९० एमएम छ। यो फ्रन्ट-व्हील र अल-व्हील ड्राइभ दुवैमा उपलब्ध हुनेछ।
भीएफ६: यसमा ५९.६ किलोवाट घण्टाको ब्याट्री प्याक र एकपटकको चार्जमा ४८० किलोमिटरको रेन्ज छ। यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ र यो फ्रन्ट-व्हील ड्राइभमा उपलब्ध हुनेछ।
दुवै मोडलले एसी र डीसी फास्ट चार्जर दुवै सपोर्ट गर्छन् र यसमा भी-फेस सिग्नेचर डीआरएल, १२.९ इन्चको टचस्क्रिन, हेड्स-अप डिस्प्ले, वायरलेस चार्जर, सिट भेन्टिलेसन, रडार-आधारित ए-लेभल एड्यास सुरक्षा, ७ वटा एयरब्याग, १९ इन्चको अलोय ह्विल र ५३७ लिटरको बुट स्पेस जस्ता सुविधाहरू रहेका छन्।