विश्वभर व्यापार घटिरहँदा भारत आयो टेस्ला

चिनियाँ सवारी उत्पादकप्रति कठोर देखिएको भारत अमेरिकी र अन्य देशका कार उत्पादकप्रति भने नरम देखिएको छ।

त्यसैको परिणामस्वरुप भारतीय बजारमा अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला औपचारिक रुपमा भित्रिएको हो।

उत्पादन प्लान्ट पहिले कि तयारी कार आयात पहिले भन्ने लामो दोधार र छलफलबीच विश्वकै धनी एलन मस्कको कम्पनी टेस्ला इंक भारतमा तयारी कार नै पहिले लिएर प्रवेश गरेको हो।

हाल विश्वभर टेस्लाको कार बिक्रीमा गिरावट आइरहेका बेला टेस्लाको ‘नयाँ बजार’ भारत प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

टेस्लाले भारतमा आफ्नो विद्युतीय कार बिक्री त सुरु गरेको छ तर मूल्य भने निकै महँगो छ।

टेस्लाका सीईओ एलन मस्क ट्रम्प प्रशासनमार्फत राजनीतिमा प्रवेश गरेसँगै टेस्लाको बिक्री घटिरहेको बेला नयाँ बजार प्रवेशले सकारात्मक संकेत गरेको छ।

तर यो कुरालाई कारको मूल्यले भने साथ दिने देखिँदैन।

मंगरबार भारतको मुम्बईमा टेस्लाको पहिलो शोरुम खुलेको हो।

टेस्लालाई भारतीय बजारमा राम्रो संख्यामा बिक्री गर्नुपर्ने दबाब छ, भारतीय उपभोक्ता पनि टेस्लाको कार किन्न आतुर देखिन्छन्, यी दुवै कुरामा कारको मूल्य बाधक बन्ने देखिन्छ।

भारतमा टेस्ला मोडल वाईको मूल्य ६१ लाख ७ हजार १ सय ९० भारु तय भएको छ।

यही कार अमेरिकी बजारमा ४५ हजार अमेरिकी डलरमा किन्न पाइन्छ। भारतमा यसको मूल्य ७१ हजार अमेरिकी डलर बराबर रहेको छ।

भारतमा विदेशमा बनेर आयात हुने कारमा शतप्रतिशतसम्म कर लाग्ने व्यवस्था रहेको छ।

जसका कारण उत्पादित देशको तुलनामा भारतमा आयात भएर बिक्री हुने कारको मूल्य करिब दोबर हुन्छ। यसका बीच टेस्लाले भारतीय बजारबाट राम्रै अपेक्षा राखेको छ।

‘हामीले भारतीय बजारमा आउने काम गरी नै रहेका थियौँ। जुन पूरा भएको छ।

भारत अटोमोबाइलका लागि निकै आकर्षक बजार हो,’ टेस्लाका सीएफओ वैभव तनेजालाई उद्धृत गर्दै सीएनएनले लेखेको छ।

भारतमा बढ्दो मध्यम वर्गीय जनसंख्याका कारण टेस्लाको भारतीय अटोमोबाइल बजारलाई महत्वका साथ हेरिरहेको थियो।

तथापी चर्को कर तनावको विषय भएको र यसमा काम गर्ने प्रयास भइरहेको तनेजाले बताएका छन्।

टेस्लाको कुल बिक्री आम्दानीमध्ये आधा अमेरिकाबाटै हुने गरेको छ।

२० प्रतिशत चीनबाट आइरहेको छ भने बाँकी ३० प्रतिशत अन्य देशको बिक्रीबाट आइरहेको छ।

पछिल्लोपटक अमेरिका र भारत व्यापार वार्तामा छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई महिनाअघि भारतले आफ्ना सामानमा कर कम गरिदिन बताएको उल्लेख गरेका थिए।

यसबारेमा भारतीय अधिकारीहरूले औपचारिक रुपमा बताएका छैनन्।

टेस्लाको बिक्री घट्नु समस्याभन्दा पनि परम्परागत कार निर्माताहरूबाट आएको र आउन सक्ने थप दबाब उसका लागि तनावको विषय हो। विद्युतीय कार निर्मातासँग भने टेस्लाले राम्रो टक्कर दिइरहेकै छ।

भारतीयको चाहना पूरा, एलन मस्कको के होला? 

२०१६ मार्च ताका टेस्लाले आफ्नो सबैभन्दा सस्तो विद्युतीय कार मोडल थ्रीको बुकिङ खुलाएको थियो।

टेस्लाका संस्थापक तथा सीईओ एलन मस्कले आफ्ना लगानीकर्ताहरूलाई विश्वस्त पार्न प्रयास गर्दै भनेका थिए- केही समयपछि विद्युतीय कार मेनस्ट्रिम बन्नेछ।

सोही समयमा टेस्लाले केही देशमा मोडल थ्रीको बुकिङ खोलेको थियो।

त्यतिबेला अमेरिकाबाहेक टेस्लाको अन्य कुनै देशमा भौतिक उपस्थिति थिएन।

त्यसरी बुकिङ खुला गरिएको देशमध्येमा भारत पनि थियो।

केही प्रविधिमा चासो राख्ने भारतीय उद्यमी पेटिएमका विजयशेखर शर्मा, भेन्चर क्यापिटालिस्ट महेश मूर्ती, जीओक्यूआईआईका विशाल गोन्डल र भोनिकका सुजयत अलीलगायतले टेस्लाको मोडल थ्री किन्न १ हजार डलर तिरेर बुकिङ गराएका थिए।

एलन मस्कको सपनामा उनीहरूले भारतबाट समर्थन गरेका थिए।

केही समयअघि त्यतिबेलाको बुकिङ टेस्लाले रद्द गरेको हो।

तर भारतीय उपभोक्ताको टेस्लाको विद्युतीय कार चढ्ने उक्त सपना पूरा भएको छ।

मंगलबार मुम्बईमा टेस्लाको शोरुम खुलेसँगै अब भारतीयहरूले टेस्लाका कार खरिद गर्न पाउने छन्। तर मूल्य भने महँगो तिर्नुपर्ने छ।

क्रमिक रुपमा टेस्लाले भारतमा कार उत्पादन प्लान्ट स्थापना गर्ने योजना बनाएकाले अबको केही वर्षमै भारतीयहरूले प्रतिस्पर्धी मूल्यमा टेस्लाका विद्युतीय कार किन्न पाउने छन्।

टेस्लाबाट भारतलाई जति लाभ हुन सक्छ त्योभन्दा बढी भारतबाट टेस्लालाई लाभ मिल्नेछ।

टेस्लाको मुख्य बजारमा यसको बिक्री चिनियाँ प्रतिस्पर्धीका कारण गिर्दाे रहेको छ।

अर्काे कारण टेस्लाले नयाँ मोडल ल्याउन ढिलाइ गरेकाले पनि बिक्रीमा कमी आएको अनुमान छ।

विद्युतीय कार बिक्री संख्या र आय दुवैमा टेस्ला दोस्रो नम्बरमा झरेको छ। एलन मस्कको राजनीतिक झुकावले पनि टेस्लाको मार्केट क्यापमा प्रभाव परेको छ।

मुख्य बजारमा टेस्लाको बिक्री बढाउन संघर्ष चलिरहेको छ। यस्तोमा भारतीय बजार टेस्लाका लागि रामवाण सावित हुन सक्छ।

ढिलै भएपनि भारत आएको टेस्लाले उत्साह व्यक्त गरिसकेको छ।

जरुरी ठानेर भारतमा आउन पुनः प्रयत्न गर्नु टेस्लाको सवल पक्ष थियो। यो सवलतालाई पुष्टि गर्न टेस्लाले अल इन वान गिगाफ्याक्ट्री भारतै बनाउनु पर्छ।

सस्तो कारदेखि नयाँ मोडल हुँदै ब्याट्री उत्पादनसम्म भारतमै गरेर उपभोक्ताका लागि भ्यालु फर मनि क्रिएट गर्नु टेस्लाका लागि अपरिहार्य जस्तै छ।

यसो नगर्ने हो भने ९ वर्षदेखि टेस्ला किन्न कुरेका उपभोक्ताका लागि कुनै लाभ मिल्ने छैन भने एलन मस्कले विश्व बजारबाट गुमाएको बजार हिस्सा फर्काउन अझै कठीन हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *