राजमार्ग जामले बिरामीको मृत्यु

सोमबार दिउँसो बीपी राजमार्गमा लेदो झरेपछि सडक अवरुद्ध हुँदा एक बिरामीको एम्बुलेन्समै मृत्यु भएको छ।

जनकपुरबाट काठमाडौं ल्याइँदै गरेका महोत्तरीका भरतलाल झा (मनराशिस्वा–२) को बाटोमै ज्यान गएको हो। उहाँलाई ‘ब्रेन ह्यामरेज’ भएको थियो।

रोशी गाउँपालिका–९ नार्केमा साँझ ५ बजेदेखि सडक अवरुद्ध हुँदा ४ वटा एम्बुलेन्स रोकिएका थिए।

त्यहीमध्ये एक एम्बुलेन्समा रहेका झाको अवस्था गम्भीर भएपछि उनलाई नजिकको मेथिनकोट अस्पताल लगिएको थियो। तर, अस्पताल पुग्दा उनको मृत्यु भइसकेको थियो।

मेथिनकोट अस्पतालका डा. त्रिभुवन चन्द्र झाले झाको बाटोमै मृत्यु भएको पुष्टि गरे।

मृतकको शव अहिले महोत्तरी फर्काइएको छ।

सडक विभाग र प्रहरीको प्रयासमा सडक खुलाउने काम भइरहेको छ।

जाममा परेका एम्बुलेन्सलाई प्राथमिकतामा राखेर पास गरिएको काभ्रे प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए।

बीपी राजमार्गमा पहिरो र लेदोको कारण यसअघि पनि धेरैपटक सडक अवरुद्ध भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *