१३२ केभी विद्युत प्रसारण लाइन विस्तारको काम आगामी असोज महिनाभित्र सम्पन्न गरिने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले तीन महिना भित्रै निर्माणको सबै काम सकिने जानकारी दिएका छन् ।
प्राधिकरणले बाँकेको बानियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण रोकिएको कामलाई अघि बढाउन पहलसमेत गरेको छ ।
प्रबन्ध निर्देशक शाक्यले कर्णालीवासीले भोग्दै आएको विद्युत समस्या समाधानका लागि निर्माणाधीन प्रसारण लाइनको अवरोध हटाएर काम सम्पन्न गर्ने गरी छलफल अघि बढाइएको बताए ।
‘आगामी असोज महिनासम्म कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम पूरा हुनेछ,’ उनले भने ।
प्रसारण लाइन निर्माणका क्रममा बाँकेको बानियाभार क्षेत्रमा स्थानीयले अवरोध गर्दै आएका छन् ।
सो क्षेत्रमा तीन वटा टावर निर्माण सम्पन्न भएलगत्तै प्रसारण लाइन सुर्खेतस्थित सुब्बाकुना सबस्टेसनमा जोडिने छ ।
स्थानीय अवरोधको कारण बुझ्न र समाधान खोज्न शाक्य बाँके पुगेका थिए ।
‘स्थानीयका समस्या के छन्, त्यसको समाधान गर्ने र कर्णालीमा नियमित विद्युत पुर्याउनेबारे हामीले छलफल गरेका छौं,’ उनले भने, ‘समाधानका लागि भएका प्रयास सकारात्मक छन् ।’
बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध गर्दै आएका छन् ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बैजनाथ गाउँपालिका–१, गाभर र वडा–४ को बानियाभार हुँदै लाइन विस्तार गर्नुपर्ने छ तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् ।
पछिल्लो पटक विवाद समाधान गर्नका लागि प्रदेश तथा संघीय सांसदसमेत प्रभावित क्षेत्रमा पुगेर स्थानीयसँग छलफल गरेका छन् ।
स्थानीयले भने कुनै पनि हालतमा बस्तीबाट विद्युत विस्तार गर्न नहुने बताइरहेका छन् ।
लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । हालसम्म आयोजनाको ९० प्रतिशत प्रगति हासिल भएको छ ।
अझै १० प्रतिशत काम गर्न बाँकी छ । जग्गा र वनका कारण आयोजनाले तोकिएको मितिमा कामसमेत गर्न सकेको छैन ।
भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको हो ।
विवाद नै विवाद हुँदा आयोजनाले अपेक्षित रूपमा काम गर्न सकेको छैन । कर्णाली प्रदेश विद्युत कटौतीको मारमा परिरहेको छ ।
सुर्खेत हुँदै कर्णालीका अन्य जिल्लामा विद्युत लिइएको छ । कर्णालीका १० जिल्लाको विद्युत हाल ३३ केभी प्रशारण लाइनबाट भइरहेकोले लोड भारी मात्रामा हुँदा आपुर्तीमा समस्या भइरहेको छ ।
पटक–पटक विद्युत जाने र आउने समस्याले गर्दा कर्णालीबासीले पीडा खेप्नु परेको छ ।
विवाद सल्टाएर काम भइरहेको विद्युत आयोजनाका प्रमुख रवि चौधरीले बताए ।