किटोन ईभीको नेपालका लागि आधिकारिक वितरक शशिला मोटर्सले ‘किटोन’ ब्राण्डका १९ वटा माइक्रो भ्यानहरू औपचारिक रुपमा सुर्खेतको काँक्रेविहार यातायात प्रालिलाई हस्तान्तरण गरिएको छ ।
बिहीवार वीरेन्द्रनगरमा आयोजित एक विशेष कार्यक्रममा ती गाडीहरू हस्तान्तरण गरेको हो ।
१४ सिट क्षमताका ती माइक्रो भ्यानहरू सुर्खेतदेखि नेपालगञ्ज र दैलेखसम्मका विभिन्न रुटहरूमा सञ्चालन गरिनेछ ।
शशीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले गाडीको चाबी हस्तान्तरण गर्दै ‘किटोन’ ब्राण्ड कम लगानीमा बढी आम्दानी दिन सक्ने भरपर्दो विकल्प भएको दाबी गरे ।
उनले गाडीको बिक्री मात्र होइन, बिक्रीपछिको सर्भिसलाई पनि पहिलो प्राथमिकता दिएको स्पष्ट पारे ।
काँक्रेविहार यातायातका अध्यक्ष रमेश सापकोटाले शशीला मोटर्सप्रति रहेको विश्वासका कारण किटोन ब्राण्डका गाडीहरू खरिद गरिएको जानकारी दिए ।
उनले यो लगानीबाट यातायात व्यवसायमा राम्रो आम्दानी हुनेमा संस्था ढुक्क रहेको बताए। सापकोटाले सन्तोष खतिवडा प्रतिको विश्वास आगामी दिनहरूमा अझ बलियो बन्ने अपेक्षा पनि व्यक्त गरे ।
कार्यक्रममा यातायात व्यवसायी, प्राविधिकहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । शशीला मोटर्सले भविष्यमा पनि व्यवसायीहरूसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।