युद्ध जस्तै यात्रा

गत साता बिहीबार चितवन राप्ती नगरपालिका–४ का अनिश आले मगर कलंकीमा ओर्लने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने गाडी चढे ।

‘पुग्नुपर्ने समयभन्दा २ घण्टा अगाडि नै एयरपोर्ट पुग्ने टार्गेट राखेको थिएँ, तर पनि पुग्नै गाह्रो होला जस्तो छ,’ महानगर यातायात लेखेको रातो बस चढेका आलेले भने ।

१ बजे एयरपोर्टभित्र छिरिसक्नुपर्ने भए पनि ११ बजे नै पुग्छु भनेर आलेले समय निर्धारण गर्नुको कारण थियो, कलंकीदेखि एयरपोर्टसम्म चल्ने सार्वजनिक यातायात ।

वैदेशिक रोजगारीका लागि रोमानिया जानु अगाडि भारतको नयाँ दिल्लीमा भीएफएक्स गर्न मेनपावर कम्पनीले भनेपछि उनी हतार–हतार काठमाडौंबाट दिल्ली जान लाग्दै थिए ।

‘काठमाडौंबाट दिल्ली पुग्नुभन्दा कलंकीबाट एयरपोर्ट पुग्न धेरै समय लाग्ने खाले देश छ ।

यो देशको सार्वजनिक गाडी कहिले चढ्न नपरोस् जस्तो लाग्छ, झन् काठमाडौंमा त चढ्नै नपरोस्,’ आलेले अनलाइनखबरसँगको कुराकानीमा आलेले भने ।

आलेले भोगेको समस्या काठमाडौंमा सार्वजनिक यातायात चढ्नेका लागि नौलो भने होइन ।

अघिल्लो महिना अनलाइनखबरकर्मीसँग भेट भएका कृष्ण गौतमले पनि सार्वजनिक सवारीको दुःख सुनाएका थिए । उनी  सधैं कार्यालयका लागि घरबाट निस्किन्छन् ।

चाबहिल चोक पुगेर सार्वजनिक सवारी कुर्छन् । १० बजेको कार्यालय समय भएकाले सबै सार्वजनिक सवारी खचाखच थिए ।

केहिबेर कुरेपछि आएको चाबहिलदेखि शंखमुलका लागि छुट्ने टेम्पो चालकले उनलाई एकछिनमा सिट खाली हुने भन्दै पछाडि झुन्डिन भने ।

अफिस पुग्न हतार भएकाले उनी केहीबेर झुन्डिएरै यात्रा गर्न तयार भए । तर, त्यस दिन उनले सिट नै पाएनन् ।

चाबहिलदेखि नयाँ बानेश्वरसम्मको ४५ मिनेटको पूरै यात्रा झुन्डिँदै गरे । सार्वजनिक यातायातमा झुन्डिँदै यात्रा गर्नुपर्ने बाध्यता अपवाद होइन ।

थुप्रै पटक यसरी झुन्डिँदै यात्रा गर्नुपरेको तितो अनुभव उनीसँग छ ।

यसरी हरेक दिन झुन्डिँदै यात्रा गर्नुलाई उनी युद्ध लडेसरह ठान्छन् । ‘व्यस्त सडकमा झुन्डिँदै यात्रा गर्नु चानचुने कुरा होइन ।

‘एक पटक त हात चिप्लिएर झन्डै लडेँ,’ गौतम त्यो दिन सम्झेर अहिले पनि झसङ्ग हुँदै भन्छन्, ‘त्यसरी यात्रा गर्ने रहर त कसलाई पो होला र ? दैनिक दौडधुपको व्यस्त जीवन, त्यसमा पनि आफ्नो निजी साधन नहुनेले सार्वजनिक यात्रा गर्नुपर्ने बाध्यता छ ।’

तर हरेक दिन यसरी झुन्डिँदै, उभिँदै, भिडमा  चेपिँदै  कष्टकर यात्रा गर्नुलाई मृत्यु छिचोल्दै यात्रा गर्नुसरह भएको उनी सुनाउँछन् ।

भक्तपुर सूर्यविनायकबाट माइतीघर आइपुग्नुपर्ने सुर्जेमान शाक्यले कार्यालय समयमा गन्तव्यमा पुग्नु युद्ध जिते बराबर हुने बताए । ‘म अफिस पुग्दा एउटा युद्ध जितेर ओर्लेको जस्तो हुन्छ ।

गाडीमा गुन्द्रुक जसरी मान्छे कोचेर ल्याउँछ, मनलाग्दी ढंगले मान्छे हाल्छ । ओर्लने र उक्लने बेला हतार–हतार गर्‍यो, जाममा परिहाल्छ ।

आफैं भन्नु न खुट्टा टेक्ने ठाउँ नभएको ठाउँमा जाममा आधा घण्टा बस्दा कस्तो हुन्छ ?,’ आक्रोशित मुद्रामा शाक्यले प्रश्न गरे ।

दैनिक कीर्तिपुर–सुन्धारा चल्ने सार्वजनिक सवारी चढ्ने मनिता महर्जनको दुःख पनि कम्ता छैन । ११ बजेदेखि कार्यालयमा हाजिर हुनुपर्ने उनी ९ः३० बजेदेखि नै कीर्तिपुरको नयाँ बजार आइपुग्छिन् ।

‘सुन्धारासम्म पुग्न कहिलेकाहीँ त १ घण्टा नै लाग्छ । अलि छिटो आएर सिटमा बस्न पाए उभिन त पर्दैन भन्ने लाग्छ तर त्यति हुँदा पनि कहिलेकाहीँ एक घण्टासम्म उभिएर जानुपर्छ,’ कीर्तिपुरको हायस गाडीकी यात्रु महर्जनले भनिन् ।

उनका अनुसार बिहान आउन मात्रै नभई साँझ घर फर्किंदा पनि उस्तै समस्या छ । ‘मेरो अफिस ५ बजे सकिन्छ तर ८ बजेसम्मको गाडी पनि उस्तै प्याक हुन्छ । म फर्किंदा सधैंजसो उभिएर फर्किनुपर्छ,’ उनले भनिन् ।

महर्जनले बिहान अफिस आउँदै सार्वजनिक यातायातको कारण दिमाग खराब हुने बताइन् ।

यात्रुका अनेक हैरानी

कलंकीबाट बानेश्वरमा ओर्लेका कृष्णनारायण श्रीवास्तवले पनि सरकारको आलोचना गर्दै सार्वजनिक यातायात राम्रो नुहँदा समय र खर्च दुवैको दुरुपयोग भएको बताए ।

पेसाले अधिवक्ता उनले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात खराब भएकै कारण निजी गाडी बढेको बताए । ‘अब समयमै पुग्ने ठेगान नभएपछि कहिले ट्याक्सी, कहिले पठाओ, इन्ड्राइभ गर्नुपर्ने हुन्छ ।

काठमाडौंमा बाध्य भएर नै निजी गाडी चढ्नुपर्ने छ । सरकारले सार्वजनिक यातायात सुधार्ने हो भने निजी गाडी घट्थ्यो,’ श्रीवास्तवले भने ।

समयमा नपुग्ने, सिट नपाउने, जाममा पर्ने मात्रै सार्वजनिक सवारीमा चढ्नेको समस्या होइन । यात्रुले सवारीभित्र भोग्ने दर्जनौं समस्या छन् ।

ललितपुर टिकाथलीबाट आइतबार बिहान साढे १० बजे  बा. १ ख ९९५३ नम्बरको नेपाल यातायात चढेका संगम सुनुवार कोटेश्वर झर्न खोज्दै थिए । तर, बसका सहचालकले कोटेश्वरमा नरोकी सिधै तीनकुने ल्याएर रोकिदिए ।

कोटेश्वरमा झर्नुपर्ने भनेर बारम्बार उनले बसबाट कराइरहे । सहचालकले समय नभएको भन्दै पछाडि अर्को गाडी आइसकेको बताए ।

‘चढ्ने बेला जहाँ जान्छु भन्यो, त्यहीँ झार्छु भन्ने तर ओराल्ने बेला अर्को गाडी आइसक्यो, अगाडिको मान्छे त्यसले लैजान्छ भनेर ओराल्दिने त होइन नि ?,’ सुनुवारले प्रश्न गरे ।

बसका चालकले ‘झार्दे त्यसलाई’ भनेपछि तीनकुनेमा उनलाई बसले ओरालिदिएको थियो ।

सार्वजनिक सवारीका सहचालकले बस स्टेसनभन्दा परसम्म पनि कराउँदै यात्रुलाई तान्नै खोज्ने गरे पनि ओर्लने बेला पछाडि भएको मान्छेलाई भिडको बीचबाट अगाडि छिटो आउन नसकेको भन्दै गाली गर्ने गरेको गुनासो यात्रुको छ ।

‘चढ्ने बेला जाने हो, ल आउनू आउनू भनेर तान्न खोज्छन, अनि भित्र छिर्नुस्, पछाडि सर्नुस् भन्दै कराइरन्छन् ।

फेरि, ओर्लने बेला छिटो झर्नुस् भन्छन । स्टेसन नआउँदै भाडा दिनुस् भन्दै कराइरन्छन, उभिन त बल्लबल्ल सकेको हुन्छ अनि भाडा कसरी निकालेर दिन्छ । एकदम अव्यावहारिक छ,’ यात्रु सुवास राजभण्डारीले भने ।

उनले काठमाडौंमा सिटीबसहरूको मनलाग्दी रहेको भन्दै यात्रुले पीडित भएर यात्रा गर्नुपर्ने अवस्था रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *