– सुरेन्द्रकुमार उप्रेती, प्रबन्ध निर्देशक – एसटीसी नेपाल
हालै भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एसटीसी ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूलाई तत्काल राहत पुर्याउने उद्देश्यले एसटीसी ग्रुपले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो।
एसटीसी ग्रुपले आधिकारिक वितरकका रूपमा कार्य गर्दै आएको भारतीय कम्पनी भेरॉक इन्टरनेसनलले पनि बाढीपीडितका लागि थप १० लाख रुपैयाँ सहयोग गरेको छ। दुवै कम्पनीले गरेर एकमुष्ट ५० लाख १ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन्।
बाढीका कारण भोटेकोसी क्षेत्रको जनजीवन, भौतिक संरचना तथा स्थानीय अर्थतन्त्रमा ठुलो क्षति पुगेको उल्लेख गर्दै कम्पनीले यस्तो कठिन परिस्थितिमा निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने आवश्यकता महसुस गरी सहयोगको निर्णय गरिएको जनाएको छ।
एसटीसीका सुरेन्द्रकुमार उप्रेतीले विपद्को समयमा नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउनुभयो।
“भोटेकोसी क्षेत्रमा आएको बाढीले धेरै परिवारको जनजीवन प्रभावित बनाएको छ।
यस्तो परिस्थितिमा सरकारको राहत तथा उद्धार प्रयासमा निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने विश्वासका साथ हामीले सहयोग गर्ने निर्णय गरेका हौँ,” उप्रेतीले भन्नुभयो, “हाम्रो सानो सहयोगले प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनामा केही योगदान पुग्ने विश्वास लिएका छौँ।”
एसटीसी ग्रुप नेपालमा अटोमोबाइल कम्पोनेन्ट, लुब्रिकेन्ट तथा टायर लगायतका उत्पादनहरूको आधिकारिक बिक्री तथा वितरण गर्ने एक व्यावसायिक समूह हो।
यस समूहले लामो समयदेखि अटोमोबाइल क्षेत्रमा सक्रिय रहँदै नेपालमै ब्याट्री उत्पादनको क्षेत्रमा समेत काम गर्दै आएको छ।
विपद्को यस घडीमा सरकार, निजी क्षेत्र र आम नागरिकबीचको सहकार्यबाट प्रभावित क्षेत्रको पुनःस्थापनामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।