फाप्लुबाट टाक्सिन्दु हुँदै खुम्बु जोड्ने सगरमाथा पर्यटन सडक कालोपत्रको काम सुरु भएको छ ।
एसियाली विकास बैंक (एडीबी) को सहयोगमा कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको ग्रामीण सडक सन्जाल सुधार आयोजना मार्फत कार्यान्वयन हुने गरी कालोपत्रको काम सुरु भएको हो ।
३७ करोड २८ लाख ७६ हजार ७ सय ६० रुपैयाँको लागतमा बन्ने उक्त सडकको मंगलबार शिलन्यास गरिएको हो ।
फाप्लुस्थित जिरो प्वाइन्टमा शनिबार कांग्रेसका पर्यटन विभाग प्रमुख तथा केन्द्रीय सदस्य आङ्गेलु शेर्पा र सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेलजाङबु शेर्पाले शिलन्यास गरेका हुन् ।
फाप्लुबाट टाक्सिन्दुको रिङ्मु नजिकसम्म करिब १० किलोमिटर सडक कालोपत्रको काम २ वर्षभित्र सक्न बानियाँ निर्माण सेवा हेटौंडाले ठेक्का सम्झौता गरेको छ ।
खुम्बु क्षेत्र जोड्ने रणनीतिक सडकको कालोपत्रे भएपछि दुधकुण्ड जान पनि धेरै सहज हुने नगरप्रमुख शेर्पाले बताए ।
निर्माण कम्पनीका प्रतिनिधि उद्धब न्यौपानेले दुई वर्षभित्र कालोपत्रको सक्ने गरी काम गर्ने जानकारी दिए ।
सडकको ठेक्का सम्झौता गत मंसिर १७ गते भएर मंगलबारदेखि काम सुरु भएको हो ।