चैत्रभित्रमा भत्काएको ४० मिटर पुनर्निर्माण सम्पन्न हुने र बाँकी पेभमेन्ट (सडक कालोपिच) को काम सम्पन्न गर्नुपर्ने भण्डारीले जानकारी दिए। सरकार तथा निर्माण कम्पनीको हेलचेक्र्याइँले फ्लाइओभर निर्माण ढिला भइरहेको यातायातविज्ञ इन्जिनियर आशिष गजुरेलले बताए।
‘सम्बन्धित सरोकारवाला सरकारी निकायले अनुगमन गर्दा नै समस्या देखेपछि त्यतिबेलामा नै पुनर्निर्माणका भन्नुपर्ने हो,’ भन्दै गजुरेलले निर्माण कम्पनीले पनि नयाँ प्रविधि भन्दै गुणस्तरसँग सम्झौता गर्न नहुने बताए।
काठमाडौं उपत्यकाको चक्रपथमा विद्यमान सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारको नीति तथा कार्यक्रमबमोजिम ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माणकार्यको सुरुवात गरिएको हो।
२०७८ साल फागुन १२ गते राष्ट्रियस्तरको प्रतिस्पर्धामार्फत आशिष–समानान्तर रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजारमा फ्लाइओभरको ठेक्का पाएको हो।
२०८० फागुन १२ गते सम्पन्न गर्ने सुरुको म्यादमा सम्पन्न नभएपछि २०८१ पुस ८ गतेसम्मको म्याद थप भएको थियो।
ठेकेदार कम्पनीले पुस ८ गतेसम्म सम्पन्न नगरेपछि चैत मसान्तसम्मको भाका मागेको थियो। उक्त भाकाअनुसार काम भइरहेकोमा ४० मिटरको पुनर्निर्माणले थप एक महिना म्याद पर सरेको केन्द्रका सिनियर डिभिजनल इन्जिनियर भण्डारीले बताए।
अब वैशाखभित्र ग्वार्कोको फ्लाइओभर निर्माण सम्पन्न हुने उनले बताए। आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत र आर्थिक प्रगति ४५ प्रतिशत रहेको छ।
ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभर इन्जिनियरिङ–खरिद र निर्माण (ईपीसी) मोडलमा अघि बढिरहेको छ।
यो मोडलअन्तर्गत ठेकेदार कम्पनीले तोकिएको अवधिमा निर्माण सम्पन्न नगरे हर्जना तिर्नुपर्ने व्यवस्थाबमोजिम कम्पनीले हर्जना तिरिरहेको भण्डारी बताउँछन्। यसमा सरकारलाई कुनै पनि भार नपर्ने उनको भनाइ छ।
‘म्याद थपपछि ठेकेदार कम्पनीले काम सक्काउनुपर्ने म्याद २०८१ पुस ८ गतेसम्म थियो। त्योभन्दा पछिको हरेक दिनको ०.०५ प्रतिशत ठेक्का लागतबराबरको हर्जना तिर्नुपर्छ।
जति ढिला हुन्छ हर्जना रकम बढ्दै जान्छ र अधिकतम १० प्रतिशतसम्म (२०० सय दिन कटेपछि) पुग्छ,’ इन्जिनियर भण्डारीले बताए।
ग्वार्को फ्लाइओभर निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभू सडक खण्डमा सवारी आवागमन सहज हुने अपेक्षा हो।