क्रेटा ईभी आज सार्वजनिक हुँदै

कोरियाली सवारी उत्पादक कम्पनी हुन्डाई मोटर्सले उत्पादन गरेको मास मार्केट विद्युतीय एसयूभी क्रेटा ईभी आज नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक हुँदैछ।

हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबार साँझ उपभोक्ताको रोजाइमा परेको क्रेटाको विद्युतीय भर्सन सार्वजनिक गर्दैछ।

हुन्डाईले अहिले पनि नेपाली बजारमा कोना र आयोनिक फाइभ विद्युतीय कार बिक्री गर्दै आएको छ।

प्रिमियम उत्पादन भएकाले यी दुई विद्युतीय कारले संख्यामा गुणात्मक फड्को मार्न सकेनन्।

अब भने हुन्डाईले मास मार्केटमा उथलपुथल ल्याउने क्रेटा ईभी नेपाली बजारमा उतारेको छ।

नेपाली सडकमा सफलताको उचाइ चुमेको हुन्डाईको क्रेटा नै विद्युतीय भर्सनमा आएको हो।

क्रेटा आफैँ पनि नेपाली तथा भारतीय बजारका लागि ब्रान्डकै रूपमा स्थापित भइसकेको छ।

भारतमा जनवरी १७ मा औपचारिक रूपमा सार्वजनिक भएको क्रेटा ईभीले मार्च २४ अर्थात चैत ११ गतेबाट नेपाली बजारमा बिक्रीका लागि उपलब्ध हुने भएको छ।

हुन्डाईको क्रेटा नेपाली उपभोक्ताका लागि परिचित नाममात्र होइन, रोजाइको एसयूभी हो।

आईसी इन्जिनले धेरैलाई लोभ्याएको क्रेटा विद्युतीय अवतारमा आएको हो।

नेपाली बजारमा विद्युतीय कारको माग बढ्दै गएकाले, भारतमा उत्पादन भएको र हुन्डाई ब्रान्डको भएकाले स्वाभाविक रूपमा क्रेटा इलेक्ट्रिक धेरैको रोजाइमा पर्ने देखिन्छ।

पछिल्लो पटक विद्युतीय कारमा निकै प्रतिस्पर्धा बढ्दै गइरहेको छ।

त्यसकै बीच हुन्डाई क्रेटा ईभी आफ्नो सेगमेन्टमा आउने अन्य ब्रान्डका विद्युतीय कारसँग प्रतिस्पर्धा गर्न सक्ने गरी तयार भएको छ।

सबैजसो कम्पनीहरूले विद्युतीय कार उत्पादनलाई प्राथमिकतामा राखेका छन्।

विद्युतीकरण गर्ने क्रममा सवारी उत्पादकहरूले चलेका आईसी इन्जिन मोडललाई नै ईभी बनाइरहेका छन्।

ईभी प्लेटफर्म अब्बल एसयूभी क्रेटालाई हुन्डाईले विद्युतीय बनाएर ल्याएको हो।

उत्कृष्ट विशेषता र आकर्षक डिजाइनमा बनेको क्रेटा इलेक्ट्रिक हुन्डाईको आयोनिक फाइभ विद्युतीय कारबाट पनि प्रभावित छ।

पिक्सेलेटेड ग्राफिक फ्रन्ट-ग्रिल, पिक्सेलेटेड ग्राफिक लोअर बम्पर र पिक्सेलेटेड ग्राफिक रियर बम्परलगायत क्रेटा ईभीमा आयोनिक फाइभका विशेषता झल्किन्छन्।

रिभर्सिङ लाइटको साथ गाडीको ग्रिल तथा कम्पनीको लोगो भागमा नै चार्जिङ पोर्ट राखिएको छ।

क्रेटा ईभीको ब्याट्री, मोटर पावर र सबैजसो विशेषताहरू बाहिर आइसकेका छन्।

क्रेटा ईभीको मूल्य भने बाहिर आएको छैन।

ईभीबारे चासो राख्ने र क्रेटा ईभी नै पर्खिएर बस्नेहरूमा मूल्यबारे धेरै नै कौतुहलता देखिएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभीको मूल्य सार्वजनिकीकरण कार्यक्रममा मात्र सार्वजनिक गर्नेछ।

तर, क्रेटा ईभीको सुरुवाती मूल्य ५३ लाख ९६ हजार वा ५४ लाख ४६ हजार रुपैयाँबाट सुरु हुने अनुमान गरिएको छ।

क्रेटा ईभीका मुख्य विशेषताहरू

क्रेटा इलेक्ट्रिक दुईवटा ब्याट्री प्याकमा उपलब्ध हुनेछ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभी दुवै ब्याट्री अप्सनमा सार्वजनिक गर्दै छ।

हुन्डाई मोटर इन्डियाले क्रेटा ईभी ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध गराएको छ।

४२ किलोवाट आवरको ब्याट्रीले ३९० किलोमिटर रेन्ज दिने र ५१.४ किलोवाट आवरको ब्याट्रीले ४७३ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ।

४२ किलोवाट ब्याट्री प्याकसहितको क्रेटा ईभीमा ९९ किलोवाटको मोटर पावर हुने छ भने यसले १३५ पीएस पावर जेनेरेट गर्ने छ।

त्यस्तै, ५१.४ किलोवाट आवरको ब्याट्री प्याकमा आउने लङ-रेन्ज भर्सनमा १२५ किलोवाटको मोटर रहेको छ।

लङ-रेन्ज क्रेटा इलेक्ट्रिकले ७.९ सेकेन्डमा ० देखि १०० किमी प्रतिघन्टाको गति तय गर्न सक्छ।

क्रेटा ईभी २६१० एमएमको ह्वील बेसको साथमा २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ।

क्रेटा आईसी इन्जिनको तुलनामा ईभीमा १० एमएम बढी ग्राउन्ड क्लियरेन्स रहेको छ।

४३३ लिटरको बुट स्पेस र २२ लिटरको फ्रंक रहेको छ।

हुन्डाईले क्रेटा ईभीमा डीसी चार्जर उपलब्ध गराएको छ।

५० किलोवाटको डीसी फास्ट चार्जरबाट १० देखि ८० प्रतिशत चार्ज ५८ मिनेटमै हुने दाबी कम्पनीको छ।

११ किलोवाटको एसी फास्ट चार्जरबाट ४२ किलोवाटको क्रेटा चार्ज गर्न ४ घण्टा र ५१.४ किलोवाटलाई ४ घण्टा ५० मिनेट लाग्ने कम्पनीले जनाएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभीको बिक्री थाल्नुअघि नै चार्जिङ पूर्वाधार र सर्भिस नेटवर्क मजबुत बनाउन लागेको छ।

विगत ५ वर्षदेखि विद्युतीय कार बिक्री गर्दै आएको कम्पनीलाई नेटवर्क विस्तार र रणनीति निर्माणमा सहजता छ।

क्रेटा ईभी मासमा बिक्री हुने भएकाले, त्यसका लागि पर्याप्त चार्जिङ नेटवर्क र सर्भिस उपलब्ध गराउन देशभर आफ्नो सर्भिस तथा शोरुम सञ्जालमार्फत लक्ष्मी इन्टरकन्टिनेन्टलले काम थालिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *