अटो क्षेत्रमा सम्भावना, अवसर र चुनौती छन्।
नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको स्थापना २०५५ सालमा भएको हो।
जसको मुख्य उद्देश्य भनेको देशभरि छरिएर रहेका अटो व्यवसायीहरूलाई संगठित गर्दै व्यवसायीहरूको हक, हित संरक्षण गर्नु हो।
यातायात क्षेत्रलाई चलायमान गराउनु र जसको लागि संस्थाले पुलको काम गर्नु पनि हो।
तर यी कामहरूका लागि महासंघले विभिन्न तालिम, कार्यशाला, गोष्ठी आयोजना गरेर सदस्यहरूलाई दक्ष बनाउँदै आएपनि त्यो पर्याप्त भनी छैन।
पछिल्लो समय संस्थाले बुटवल मैनाबगरमा केन्द्रीय कार्यालयको भवन समेत जडान गरी अगाडि बढेको छ।
अटो मेकानिक्स व्यवसायी महासंघ समयअनुसार अटो व्यवसायीका हक अधिकारका कुराहरूलाई आत्मसाथ गर्दै अगाडि बढ्न आवश्यक छ।
महासंघले अटो मेकानिक्स क्षेत्रमा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।
संस्थाले स्वास्थ्य, सुरक्षा, आत्मसम्मान र रोजगारीको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेलेको छ।
यद्यपि बजारको प्रतिस्पर्धा र प्राविधिक चुनौतिहरू छन्। युवा पुस्तालाई अटो मेकानिक्स क्षेत्रमा आकर्षित गर्दै आएपनि त्यसलाई अझ व्यापकता दिन सकियो भने विदेशिन लालायित युवा पुस्ता स्वदेशमै रमाउन सक्ने वातावरण सिर्जना गर्न सकिन्छ।
अटो व्यवसायीहरूलाई एकै ठाउँमा राख्ने उद्देश्यका साथ २०५२ सालमा स्थापना भएको बुटवल मैनाबगरको अटो भिलेज अहिले सम्म व्यवस्थित हुन सकेको छैन।
यसलाई संस्थाले आत्मसाथ गर्दै नयाँ तरिकाले अगाडि बढ्न जरुरी छ।
अटो क्षेत्रले सरकारलाई तिर्ने राजस्व निकै बढी छ तर अटो व्यवसायीको समस्या सरकारले कहिल्यै पनि मसिनो रूपमा हेरेर हौसला दिन नसकेको हामीलाई अवगत नै छ।
बुटवलको अटो भिलेज बुटवल बजारमा छरिएर रहेका ३ सयभन्दा बढी अटो पसललाई संस्थागत रूपमा यस क्षेत्रमा आएर व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्न सुरु गरेको तीन दशक पुग्दा पनि न्यूनतम पूर्वाधार समेत पाउन नसकेर समस्याग्रस्त छ।
नेपालकै नमुना मानिएको यो अटो भिलेजमा बस्ने अटो व्यवसायीका समस्या उस्तै हुनु गम्भीर विषय हो।
अहिलेको यो आधुनिक परिवेशमा आइपुग्दा दुई-चार व्यवसायी बाहेक अधिकांश अटो व्यवसायीले पुरानै तरिकाले जेनतेन रूपमा नै आफ्नो व्यवसाय धानेका छन्।
यस्ता समस्याप्रति पनि महासंघको ध्यान जान जरुरी हुन्छ।
स्थापना कालमा करिब साढे ३ सय जना व्यवसायी रहेको यो अटो भिलेजमा हाल करिब ८ सय अटो व्यवसायी रहेका छन् भने जहाँ करिब ८ हजार जनाले प्रत्यक्ष रोजगार पाएका छन्।
यो अटो भिलेज बुटवल उपमहानगरपालिकाका लागि राम्रो आम्दानीको स्रोत समेत हो। तर सुरुका दिनमा नगरपालिकाले यो क्षेत्रमा सम्झौता अनुसार निर्माण गर्ने भनेको विकासका काम जस्तै ढल, नाली, सडक, बत्ती, पानी व्यवस्थापन गर्न नसक्नु व्यवसायीका लागि चिन्ताको विषय हो।
वास्तवमा अटो भिलेज र त्यहाँ अटो व्यवसायीले दिने सेवा लिन जाँदा सहज वातावरण उपलब्ध हुन आवश्यक छ तर त्यस्तो वातावरण छैन।
कुनै पनि संस्थाको मुख्य उद्देश्य गुणस्तरीय सेवा र व्यवसायिक उत्थान नै हो।
यस्ता सवालमा पनि अब नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको ध्यान जान जरुरी छ।
बुटवल मैनाबगर अटो भिलेजमा मात्र होइन, ७७ वटै जिल्लामा आवश्यकता अनुसार नयाँ सवारी साधन प्रयोग गरेका उपभोक्तालाई आधुनिक सेवा उपलब्ध गराउन पहल गर्न महासंघको ध्यान जान आवश्यक छ।
३० वर्षदेखि अटो व्यवसायमा लागेका अटो व्यवसायीहरूको भनाइलाई आधार मान्दा अटो क्षेत्रमा आएर आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउने क्रममा लामो समयसम्म सुरक्षाको समेत व्यवस्था हुन नसक्दा विभिन्न समयमा भोग्नु परेको समस्या, स्वास्थ्य उपचारको लागि स्वास्थ्य चौकीको समेत व्यवस्था हुन नसकेको भनाइ पाइन्छ।
औद्योगिक क्षेत्रसरह सुविधाको विषय त टाढा नै छ। यस्ता महत्वपूर्ण सवालमा पनि महासंघको तत्काल ध्यान जान आवश्यक छ।
अटो भिलेज व्यवस्थित सञ्चालन, सर्वसुलभ गुणस्तरीय सेवा र सुविधा, उचित मूल्यमा प्रदान गर्नका लागि पनि लाग्न जरुरी छ।
अहिले बजारमा नयाँ-नयाँ मोडेल र ईभी सवारी साधनको व्यापार बढ्दो छ।
अन्तर्राष्ट्रिय बजारको बढ्दो ईभी मागलाई चिनियाँ उत्पादकले राम्रो अवसरका रूपमा विस्तार गरिरहेका छन्।
यस प्रतिपनि अटो व्यवसायीको सेवा स्तरीय हुन आवश्यक छ अर्थात्, गाडीमा विभिन्न खालका समस्या आउँदा विभिन्न तरिकाले मर्मत गर्नु पर्ने हुन्छ। ती सबै सेवा दिन सक्नुपर्दछ।
पढाइ नभएको व्यक्तिले नयाँ प्रविधिलाई क्याच गर्न नसक्ने हुँदा अध्ययन आवश्यक छ।
अहिले विद्युतीय सेन्सर स्क्यानिङ टुल्सको अवस्था बुझ्नका लागि अंग्रेजी आवश्यक छ। अब दिनप्रतिदिन विद्युतीय गाडीहरू आउँदै छन्।
तिनमा पनि धेरै सेन्सर हुन्छन्। यी सबै बुझ्नका लागि अध्ययन आवश्यक भएकाले अटो व्यवसायीहरू सक्षम हुन आवश्यक छ।
इन्जिन, फ्युल पम्प, सिट, टायर, पट्टा, डेन्टिङ, पेन्टिङ, बडी वासिङ, ब्याट्री तथा इलेक्ट्रिक, ग्रिस, लेथ तथा इन्जिनियरिङ, मोटरपार्ट्स, हेवी इक्विपमेन्ट, इन्जिन, ट्र्याक्टर, चार्जिङ लगायत सेक्र्टरको रूपमा कार्यविभाजन गर्दै सेवा गुणस्तरीय रूपमा उपलब्ध गराउन जोड दिनुपर्छ।
संस्थामा रहेका व्यवसायीलाई सुरक्षाको दृष्टिकोणबाट संवेदनशीलता वा भइपरि आउने दुर्घटना, चोटपटक वा मृत्यु भएको अवस्थामा कल्याणकारी कोष स्थापना गर्न आवश्यक छ।
अन्त्यमा, चितवनको पटिहानीमा सम्पन्न १५औं साधारण सभा तथा ६औं महाधिवेशन चैत्र ९ गते सम्पन्न भएको छ।
अधिवेशनले गोपाल भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना छ।
बुटवल मैनाबगरमा केन्द्रीय कार्यालय रहेको यो संस्थाको नयाँ कार्यसमितिले आगामी दिनमा विगतमा गरेको र वर्तमानमा भएका कामको समीक्षा गर्दै भावी योजना बारे स्पष्ट रणनीति बनाएर मुलुकभर छरिएर रहेका सबै क्षेत्रका व्यवसायीलाई समेटेर संस्थाको उद्देश्य साकार पार्न सफलता मिलोस् भन्ने शुभकामना दिन चाहन्छु।
– दामोदर खनाल, बुटवल