पुराना ब्याट्री व्यवस्थापनको योजना कहिले

पहिला–पहिला ब्याट्री भन्दा आम मानिस टर्च लाइट, रेडियो, रिमोट, क्यामेरा लगायतमा प्रयोग गर्ने ब्याट्री भनेर बुझ्थे। बिस्तारै सवारी साधन चलाउनेले मोटरसाइकल, कार, ट्रकमा पनि ब्याट्रीको प्रयोग हुने रहेछ भन्ने कुरा बुझे।

अहिले आम मानिसले ब्याट्री विद्युत् र सोलारले उत्पादन गर्ने विद्युत् पनि स्टोर गर्न चाहिने रहेछ भनेर बुझेका छन्।

तर, अहिले पनि आम मानिसलाई थाहा छैन कि कुनै सानोदेखि ठूलो ब्याट्री काम नलाग्ने भएपछि त्यसलाई कतै विसर्जन गर्दा त्यसले कति वातावरणमा नकारात्मक प्रभाव पार्छ भनेर।

अहिले धेरै क्षेत्रमा ब्याट्रीको प्रयोग भइरहेको छ। ब्याट्री काम नलाग्ने भएपछि ब्याट्रीमा हुने कार्बनलगायतका हानिकारक रसायन जताततै फ्यालेर त्यसमा भएको मेटलको फेरि प्रयोग भएको देखिन्छ। यसले अहिले वातावरणमा प्रभाव पारिरहेको छ।

पहिला–पहिला गाडी स्टार्ट गर्न र केही बत्ती बाल्नका लागि मात्रै थोरै एम्पियरको ब्याट्रीको प्रयोग हुन्थ्यो। अहिले भने इभीमा इन्धनको बदला लिथियम आयन र लिड एसिड नामको ब्याट्रीको प्रयोग हुन्छ।

अहिले रिक्सा, टेम्पु, कार, बस, माइक्रोबस गरेर हजारौं विद्युतीय सवारी साधन सडकमा गुडेका छन्। ती सबै ब्याट्रीले नै चल्छन्। यसरी विद्युतीय सवारीको प्रयोग हुँदा ब्याट्रीको उपभोग झन् बढाएको छ।

अब बिस्तारै हामीले थप ब्याट्री विसर्जन गर्ने अवस्था सिर्जना हुँदै गएको छ। यदि अब बिस्तारै हामीले उचित तरिकाले पुराना ब्याट्रीको विसर्जन गर्न नसकेको खण्डमा त्यसले वातावरण र जनस्वास्थ्यमा थप नकारात्मक प्रभाव पार्ने विज्ञहरूको भनाइ छ।

केही समयअगाडि विषादीको प्रयोग गर्ने दर्जनौं कृषकलाई क्यान्सर भएको समाचार मिडियामा आएको थियो। प्लास्टिक, मोबिल, टायरलगायतका अन्य कुनै केमिकल बाल्दा पनि कार्बन निस्कने र त्यो धूवाँले ठूलो असर गर्ने, क्यान्सर हुने भन्ने विषय हामी सबैले बुझेका छौं।

तथापि, कतिपयले ज्ञानको अभावमा जाडोको समयमा यी वस्तु बालेर आगो तापेको देखिन्छ। यसले आगो ताप्ने र वरिपरि बस्ने धेरैलाई असर गर्ने हामीले अनुभव पनि गरेका छौं।

ब्याट्रीमा हुने केमिकल त्योभन्दा पनि कडा हुन्छ भन्ने धेरैले भनेको सुनिन्छ। यो सत्य पनि हो। त्यसैले अब पुराना ब्याट्री व्यवस्थापन गर्नु राज्य र आम नागरिकको दायित्व पनि हो।

कतिपय इभीका विक्रेताहरू इभीको ब्याट्री रिसाइकल हुने, अहिले यसको रिसाइकल इन्डियामा भइरहेको र नेपालमा पनि प्रशस्त ब्याट्री भएपछि रिसाइकल सुरु हुने बताउँछन्।

अहिले तत्काल भने ब्याट्री संकलन गरेर इन्डिया पठाउनुपर्ने उनीहरूको भनाइ छ। अहिलेसम्म यो विषय त्यति स्पष्ट भएको छैन। यसलाई स्पष्ट बनाउनु इभी र अन्य व्यवसायीको दायित्व हो।

अहिले पनि अटो सेक्टरमा काम गर्ने आम मानिसलाई ब्याट्रीमा हुने केमिकल के हो, यसले वातावरणमा कस्तो खालको प्रभाव पार्छ, र यसलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने विषयको ज्ञान छैन।

ग्यारेज र सर्भिस सेन्टरमा काम गर्ने आम मेकानिक्सलाई पुरानो ब्याट्री कसरी विसर्जन गर्दा कम नोक्सान हुन्छ भन्ने विषयको पनि ज्ञान छैन।

उनीहरू पुरानो मोबिल, प्लास्टिकका टुक्रा हालेर आगो बालेर तापेर बसेका हुन्छन् भने पुराना ब्याट्री पनि जथाभावी विसर्जन गर्छन्। यसले गर्दा उनीहरूले आफूलाई पनि हानि हुने काम गरेका छन् भने समाजलाई पनि असर पार्ने काम गरिरहेका छन्।

त्यसैले यो विषयमा उनीहरूलाई पनि उचित खालको ज्ञान दिनुपर्ने देखिन्छ। अटो सेक्टरले पनि यी विषयमा चासो दिएर कार्बन उत्सर्जन कम हुने रणनीति बनाउनुपर्छ भने ब्याट्रीलगायतका पुराना वस्तुको विसर्जन कसरी गर्न सकिन्छ भनेर अनुसन्धान गर्नुपर्छ।

अहिले बजारमा सबै सवारी साधन, इन्भर्टर, सोलार, र रिमोट, मोबाइललगायतका धेरै क्षेत्रमा ब्याट्रीको प्रयोग हुन्छ। यसको प्रयोग दिन–प्रतिदिन बढेको छ।

पछिल्ला दिनमा लोडसेडिङ कम भए पनि आधुनिक कार्यालयमा इन्भर्टर ब्याट्रीको प्रयोग बढिरहेको छ। इभीको कारण पनि ब्याट्रीको प्रयोगमा धेरै वृद्धि भएको छ।

यसले गर्दा अबको केही वर्षमा विसर्जन गर्नुपर्ने ब्याट्रीको डङ्गुर हुन्छ। त्यसका लागि अहिलेदेखि नै योजनाको आवश्यकता पर्छ।

अहिले विद्युतीय सवारी साधनको प्रयोगका कारण वातावरण प्रदूषण कम हुँदै गएको छ। देशको विद्युत् खपत बढ्दै गएको छ।

त्यस्तै, पेट्रोल र डिजेलको खपत कम हुँदा नेपालबाट बाहिर जाने नगद पनि घट्दै गएको छ। यसले वातावरण तथा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ।

तर, भोलिका दिनमा लिथियम आयन र अन्य ब्याट्री वातावरणमा पार्ने प्रभाव अहिलेदेखि नै आकलन गर्न सकिएन भने, भविष्यमा यसले मानिसको स्वास्थ्यमा ठूलो असर गर्नेछ।

अहिले क्यान्सर तथा फोक्सोका अन्य रोगका कारण अल्पायुमै मानिसको मृत्यु हुँदा धेरैको बिजोक भएको देखिन्छ।

अब हामीले यस्तो खालको जोखिम नियन्त्रण गर्ने वातावरण बनाउँदै जानुपर्छ। यस विषयमा अटो क्षेत्रले पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *