काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान साढे ४ बजे काठमाडौं महानगरपालिका-३२, तीनकुनेको गैरीगाउँ पेट्रोल पम्प अगाडिको सडकमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनामध्ये एक जनाको मृत्यु भएको हो।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका सुकराम र रमेश तमाङलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको थियो ।
दुईमध्ये काभ्रेको पनौती नगरपालिका-११ घर भई ललितपुरको धापाखेल बस्ने अन्दाजी २६ वर्षीय सुकरामलाई बिहान साढे ५ बजे चिकित्सकले मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
मोटरसाइकलमा सवार अर्का युवक काभ्रेकै बेथानचोक गाउँपालिका-६ बस्ने रमेश तामाङको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
प्रहरीका अनुसार प्रदेश ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रा १ ख २६२२ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
ठक्कर दिएर फरार भएको टिपर त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो भवन परिसरमा भेटिएको थियो ।
एसपी बोहराका अनुसार चालक फरार रहेपनि टिपरका मालिक भने प्रहरीको सम्पर्कमा आएका छन् ।