बीपी राजमार्गको ‘अस्थायी मर्मत’

स्रोतको अभावमा सरकारले बाढीले ध्यस्त बनाएको बीपी राजमार्ग पुनर्निर्माण होइन, अस्थायी मर्मत सुरू गरेको छ ।

समयमै स्रोत सुनिश्चितता तथा बजेट निकासा हुन नसक्दा काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने रणनीतिक महत्वको बीपी राजमार्गको स्थायी पुनर्निर्माण प्रक्रिया अझै सुरु हुन नसकेको हो ।

आगामी वर्षायाममा नियमित यातायात सञ्चालनमा ल्याउने उद्देश्यले अस्थायी मर्मत थालिएको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जनाएको छ ।

राजमार्गको स्थायी पुनर्निर्माणका लागि अझै पनि स्रोत सुनिश्चित नभइसकेको र अर्थ मन्त्रालयबाट रकम निकासा पनि नभएको मन्त्रालयले जनाएको छ ।

भत्किएका संरचना पुनर्निर्माण ढिलाई हुनुको मूख्य कारण स्रोतको अभाव नै रहेको सडक विभागका महानिर्देशक रामहरी पोखरेल बताउँछन् ।

उनी भन्छन्, ‘मन्त्रीज्यू, सचिवज्यू सहित हरेक दिन बिराएर अर्थ मन्त्रालयमा धाइरहेका छौं, वार्ता चलिरहेको छ, स्रोत सुनिश्चित हुनासाथ ठेक्का प्रक्रियामा जान्छौं ।’

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केशवकुमार शर्माले पुनर्निर्माण प्रक्रियाबारे पत्रकारलाई सम्झाएका थिए ।

‘प्राकृतिक विपत्तिपछि पहिलो काम उद्दार, दोस्रो काम उपचार हुन्छ, तेस्रो काम भत्किएको अस्थायी संरचना बनाएर बासस्थान बनाउने हुन्छ, त्यसपछि न स्थायी संरचना बनाउन थाल्ने हो, बीपी राजमार्ग यो त्यही प्रक्रियामा छ ।’

मन्त्रालयका अनुसार विपी राजमार्ग लगायत बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको स्थायी रुपमा निर्माण तथा मर्मत र वैकल्पिक सडकको निर्माणका लागि २५ अर्ब बराबर बजेट र स्रोत सुनिश्चितता मागिएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ का लागि ६ अर्बको बजेट निकासा माग गरिएको छ ।

यसका लागि अर्थ मन्त्रालय र गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् तथा पुनर्निर्माण प्राधिकरणमा अनुरोध गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

स्थायी संरचनाको सहमति र बजेट कुर्दा अस्थायी मर्मत पनि प्रभावित

भौतिक मन्त्रालयले यो राजमार्गमा अस्थायी काम नथाली सिधै स्थायी संरचना पुनर्निर्माण थाल्ने योजना बनाएको थियो ।

विभागका महानिर्देशक पोखरेलका अनसार स्थायी संरचना बनाउन पैसा आउँछ, त्यसैमा हामी उपकरण प्रयोग गरी वर्षामा पनि कामलाई निरन्तरता दिएर यातायात चलाउने योजना थियो ।

अस्थायी मर्मतको काम मुल ठेक्कामै समावेश गर्ने लक्ष्य थियो । सोहीकारण लामो समयसम्म पनि अस्थायी मर्मतको काम थालिएको थिएन ।

तर, अर्थ मन्त्रालयले न स्रोत सुनिश्चितता दिन सक्यो, न बजेट निकासा नै ।

यसरी जाँदा अस्थायी संरचना समेत बनाउन नसक्ने र वर्षामा यातायात नचल्ने भएसँगै विभागले अस्थायी मर्मत थालेको हो ।

अहिले हिउँदमा मात्र गाडी चल्ने गरी विपि राजमार्गमा यातायात चलाइएको छ ।

ठेक्का प्रक्रियाका लागि आवश्यक डिजाइन तथा अन्य कागजी प्रक्रिया पुरा भएका कारण स्रोतको जोहो हुनासाथ प्रक्रिया अगाडी बढ्ने मन्त्रालयका उच्च अधिकारीहरुका बताउँछन् ।

अब स्रोत सुनिश्चितता पाएर ठेक्का पट्टाको प्रक्रियामा जाँदा पनि वर्षाअघि स्थायी पुनर्निर्माण नसकिने निष्कर्षसहित मन्त्रालयले अस्थायी मर्मत भने थालेको छ ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल भने अस्थायी मर्मतपछि वर्षामा पनि यातायात सूचारु हुनेमा ढुक्क छन् ।

गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको यो राजमार्गमा भकुण्डेबेँसी देखि नेपालथोकसम्म विभिन्न खण्डमा बढी पुनर्निर्माणको आवश्यकता छ ।

सडक विभागका अनुसार बाढीले राजमार्गको १३ किलोमिटर खण्डमा बढि क्षति पुर्‍याएको छ । त्यसमध्ये ८.५ किलोमिटर सडक पूर्णरुपमा बगेको अवस्था छ ।

अस्थायी मर्मतमा विभागका उपकरण तथा जनशक्ति परिचालन गरि विभिन्न खण्डको मर्मत थालिएको हो ।

पूर्ण रुपमा सडक बगेको खण्डबाहेक अन्य खण्डमा सडक चौडा पार्ने, सम्याउने, ग्राभेल भर्ने लगायत काम गर्नु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *