अमेरिकामा ट्रकले भिडलाई ठक्कर दियो: अमेरिकी सहर न्यु अर्लिन्सको एक लोकप्रिय पर्यटकीय क्षेत्रमा नयाँ वर्षको बिहानीमा एउटा ट्रक चालकले जानाजान तीव्र गतिमा भिडमा गाडी चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
घटनामा ३० जना घाइते भएको सहर प्रशासनले बुधबार जानकारी दिएको छ ।
प्रहरीका अनुसार चालकले जानाजानी भिडमा ट्रक गुडाए र गाडीभित्रबाट गोली चलाउन थाले ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार संदिग्ध ट्रक चालकलाई प्रहरीले गोली हानेको स्थानीय प्रहरी प्रमुख एनी कर्कप्याट्रिकले बताएकी छिन् ।
‘यो घटना स्थानीय समयअनुसार बिहान ३.१५ बजे भएको थियो ।
उसले ब्यारिकेडमा पनि प्रहार गर्यो, त्यसपछि गोली चलायो, दुई प्रहरी अधिकारीसमेत घाइते भए,’ कर्कप्याट्रिकले भनिन् ।
फ्रेन्च क्वार्टर भनिने आक्रमण भएको क्षेत्रमा नयाँ वर्षको उत्सव मनाउन मानिसको घुइँचो लाग्दै थियो ।
अमेरिकी सञ्चार माध्यम सिबिएस न्युजले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै एउटा ट्रक ‘उच्च गतिमा’ भिडभित्र पसेपछि त्यसका चालक गाडीबाहिर झरेर बन्दुक चलाउन थालेको र प्रहरीले जवाफी फायर गरेको जनाएको छ ।
घटनामा दुई प्रहरी अधिकारी पनि घाइते भएका छन् । न्यु अर्लिन्सका प्रहरी अधिकारी एनी कर्कप्याट्रिकका अनुसार संदिग्ध चालकले सकेसम्म धेरै मानिसलाई मार्न चाहेको थियो ।
यस घटनाको अनुसन्धानको जिम्मा अहिले एफबिआईलाई दिइएको छ ।
लुइसियानाका शीर्ष अधिवक्ता लिज मुरिएलले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेका छन्, ‘हामीमध्ये धेरै आज उठ्दा न्यु अर्लिन्समा नयाँ वर्ष मनाइरहेका मानिसमाथि भएको घातक आक्रमणको दुखद समाचार सुन्न बाध्य भएका छौँ ।
पीडित र तिनीहरूका परिवारले न्याय पाउने म सुनिश्चित गर्नेछु ।’
न्यु अर्लिन्सको ‘फ्रन्ट क्वार्टर’मा रहेको बोर्बोन स्ट्रिट रात्रिकालीन जीवनका लागि परिचित छ । घटना भएको क्षेत्रमा धेरै बार, रेस्टुरेन्ट र क्लब छन् ।
प्रत्यक्षदर्शीले घटना हुँदा बन्दुक वा गोली चलेको आवाज सुनिएको र मानिसहरू भागदौड गरिेरहेको बताएका छन् । कैयाैँले टेबुलमुनि लुकेर ज्यान जोगाएको पनि बताएका छन् ।
न्यु अर्लिन्सका प्रहरी अधिकारीहरू सहरको सुपरडोम स्टेडियम सुरक्षित गर्न व्यस्त थिए ।
त्यहाँ राति नै फुटबल खेल हुने तयारी थियो ।
यसैबिच, एफबिआईले एक विज्ञप्ति जारी गर्दै ट्रक चालक जीवित नरहेको र घटनालाई आतंकवादी घटनाका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ ।
एफबिआईको विशेष एजेन्ट अल्थिया डंकनलाई यस मुद्दाको अनुसन्धान प्रमुख तोकिएको छ ।
घटनास्थलमा विस्फोटक पदार्थ फेला पर्ने सम्भावना रहेकाले अधिकारीहरू त्यसमा पनि केन्द्रित भएको आल्थिया डन्कनले बताएकी छिन् ।
यसबिच अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले घटनालाई लिएर स्थानीय मेयरसँग राष्ट्रपति सम्पर्कमा रहेको वक्तव्य दिएको छ ।
न्यु अलिन्सकी मेयर ला टोया क्यान्ट्रेलले पनि यसको पुष्टि गरेकी छन् ।
अमेरिकाको लुइसियाना राज्यमा अवस्थित न्यु अर्लिन्स सहर सांस्कृतिक विविधताका लागि परिचित छ ।
यो सहरमा पहिलोपटक सन् १७१८ मा फ्रान्सेलीहरूले बसोवास बसाएका थिए ।
यसको सडकको मूल डिजाइन पनि उनीहरूले नै तयार पारेका थिए ।
यसैले यसलाई अहिले पनि फ्रान्सेली क्वार्टर भनिन्छ । प्रत्येक वसन्तमा दश लाखभन्दा बढी मानिस यहाँ प्रसिद्ध मार्डी ग्रास कार्निवल र परेडमा भाग लिन आउँछन् ।
ऐतिहासिक रूपमा यो सहर काला मानिसको बसोवास क्षेत्र थियो । यो क्षेत्र ज्याज संगीतको जन्मस्थलको रूपमा पनि परिचित छ ।
यसैले यो संगीतप्रेमीका लागि मनपर्ने गन्तव्य बन्ने गरेको छ । तर, पछिल्ला वर्षमा यस सहरले धेरै कठिनाइ पार गर्नुपरेको छ ।
Visit homepage : eautonepal.com