दुई दिनमा पनि सकिएन रविको बयान: सहकारीको पैसा गोर्खा मिडियामा लगेर दुरुपयोग गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आइतबार पनि बयान भएको छ ।
दुई दिनमा पनि उनको बयान सकिएको छैन । गत बिहीबार पोखराबाट उनलाई काठमाडौं ल्याइएको थियो ।
शुक्रबार पनि दिनभर बयान भएको थियो । आइतबार नसकिएपछि सोमबार पनि बयान गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट गैरकानुनी रूपमा रकम गोर्खा मिडियामा लगिएको थियो । गोर्खा मिडियाको सञ्चालक हुँदा सो रकम खर्च गर्ने भूमिकामा लामिछाने पनि थिए ।
सोही आधारमा उनीविरुद्ध काठमाडौंमा समेत मुद्दा दायर गर्न लागिएको छ ।
लामिछानेले सो कम्पनीको प्रबन्ध निर्देशक भएकाले चेकमा हस्ताक्षर गरेर खर्च गरेको, तर पैसा सहकारीबाट आएकोबारे जानकारी नभएको दाबी गर्दै आएका छन् ।
स्वर्णलक्ष्मी सहकारी गितेन्द्रबाबु (जिबी) राईकै समूहले चलाएको थियो ।
गोर्खा मिडियाका अध्यक्ष पनि राई नै हुन् । उनले विभिन्न पाँच सहकारीको रकम गोर्खा मिडियालगायत विभिन्न कम्पनीमा लगेर दुरुपयोग गरेका थिए ।
त्यसमा उनका कम्पनीका सञ्चालकहरूलाई समेत हाल प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।
संसदीय छानबिन समितिले सहकारीबाट पैसा ल्याउने क्रममा लामिछानेको भूमिका नभएको, तर खर्च गर्ने भूमिकामा रहेको उल्लेख गरेको छ ।
प्रहरीले संगठित अपराधसहित ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
कास्की र रुपन्देहीमा प्रहरीले उनको बयान लिइसकेको छ भने काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ । लामिछानेलाई चितवन लैजाने तयारी भइरहेको छ ।