दुई दिनमा पनि सकिएन रविको बयान

दुई दिनमा पनि सकिएन रविको बयान: सहकारीको पैसा गोर्खा मिडियामा लगेर दुरुपयोग गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आइतबार पनि बयान भएको छ ।

दुई दिनमा पनि उनको बयान सकिएको छैन । गत बिहीबार पोखराबाट उनलाई काठमाडौं ल्याइएको थियो ।

शुक्रबार पनि दिनभर बयान भएको थियो । आइतबार नसकिएपछि सोमबार पनि बयान गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट गैरकानुनी रूपमा रकम गोर्खा मिडियामा लगिएको थियो । गोर्खा मिडियाको सञ्चालक हुँदा सो रकम खर्च गर्ने भूमिकामा लामिछाने पनि थिए ।

सोही आधारमा उनीविरुद्ध काठमाडौंमा समेत मुद्दा दायर गर्न लागिएको छ ।

लामिछानेले सो कम्पनीको प्रबन्ध निर्देशक भएकाले चेकमा हस्ताक्षर गरेर खर्च गरेको, तर पैसा सहकारीबाट आएकोबारे जानकारी नभएको दाबी गर्दै आएका छन् ।

स्वर्णलक्ष्मी सहकारी गितेन्द्रबाबु (जिबी) राईकै समूहले चलाएको थियो ।

गोर्खा मिडियाका अध्यक्ष पनि राई नै हुन् । उनले विभिन्न पाँच सहकारीको रकम गोर्खा मिडियालगायत विभिन्न कम्पनीमा लगेर दुरुपयोग गरेका थिए ।

त्यसमा उनका कम्पनीका सञ्चालकहरूलाई समेत हाल प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।

संसदीय छानबिन समितिले सहकारीबाट पैसा ल्याउने क्रममा लामिछानेको भूमिका नभएको, तर खर्च गर्ने भूमिकामा रहेको उल्लेख गरेको छ ।

प्रहरीले संगठित अपराधसहित ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

कास्की र रुपन्देहीमा प्रहरीले उनको बयान लिइसकेको छ भने काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ । लामिछानेलाई चितवन लैजाने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *