बंगलादेशमा विद्युत् निर्यात गर्न के–के गरियो ? : नेपाल र बंगलादेश ऊर्जामा सहकार्य गर्ने गरी सन् २०१८ मै सहमति भएको थियो ।
त्यसलाई कार्यान्वयन गर्न द्विपक्षीय ऊर्जा सहसचिव र सचिवस्तरीय समिति पनि बनाइएको थियो ।
०७९ भदौमा काठमाडौंमा सम्पन्न ऊर्जासचिवस्तरीय बैठकमा बंगलादेशले कात्तिक ०७९ भित्रै नेपालबाट ४० देखि ५० मेगावाट विद्युत् किन्ने सहमति गरेको थियो ।
तर, भारतसँग समयमै समन्वय नहुँदा त्यो सफल हुन सकेन ।
त्यसपछि फागुन ०७९ मा सम्पन्न नेपाल–भारत ऊर्जा बैठकमा भारतले आफ्नो प्रसारण प्रणालीबाट नेपालको ५० मेगावाटसम्म विद्युत् बंगलादेश लैजान दिने सहमति गरेको थियो ।
त्यसपछि नेपालले बंगलादेशमा विद्युत् बिक्री गर्न थप प्रक्रिया अघि बढाएको थियो ।
त्यसपछि जेठ ०८० मा भएको नेपाल बंगलादेश ऊर्जा बैठकमा २०८० कै बर्खामा विद्युत् व्यापार गर्ने सहमति भएको थियो । तर, त्यो सफल भएन ।
त्यसपछि बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड १६ पुस ०८० मा नेपालबाट ४० मेगावाट विद्युत् किन्न टेन्डर आह्वान गरेको थियो ।
त्यसपछि प्राधिकरणले विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो ।
पेस गरिएका बोलपत्रसम्बन्धी कागजात मूल्यांकन गरी बंगलादेशले त्यसलाई असारमा स्वीकृत गरेको थियो ।
त्यसपछि १३ साउनमा विद्युत् बिक्री सम्बन्धमा त्रिपक्षीय सम्झौता गर्ने भनिएको थियो ।
तर, बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका कारण त्यो स्थगित गरियो ।
आन्दोलनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडिन् ।
त्यसपछि त्यहाँ अन्तरिम सरकार बनेपछि १७ असोजमा यस सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको थियो ।
त्यसैअनुसार शुक्रबार अर्थात् ३० कात्तिकमा बंगलादेशमा विद्युत् निर्यात सुरु गर्न लागिएको हो ।
Visit homepage : eautonepal.com