नक्कली लाइसेन्स जारी गर्ने कार्यमा संलग्न……

नक्कली लाइसेन्स जारी गर्ने कार्यमा संलग्न: नक्कली सवारी लाइसेन्स जारी गर्ने कार्यमा संलग्न देखिएका यातायात व्यवस्था विभागका तत्कालीन इन्जिनियर पुनः विभागमै फर्किएका छन् ।

नक्कली सवारी लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कारबाही थालेपछि सरुवा भएका कम्प्युटर इन्जिनियर भानुभक्त जोशी पुनः विभागमै फर्किएका हुन् ।

अघिल्लो सोमबार उनले विभागमा हाजिर गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा गरिरहेको छानबिनमा उनी पनि तानिएका छन् ।

लिखित परीक्षा र ट्रायलविनै एक लाख दुई हजार नक्कली सवारी लाइसेन्स जारी गरेको सम्बन्धमा विगत केही महिनायता अख्तियारले छानबिन गरिरहेको छ ।

अख्तियारले विस्तृत छानबिनमै लगेर यसउपर अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन् ।

छानबिनका क्रममा अख्तियारले विभागसँग कागजात र नक्कली लाइसेन्स जारी गर्नमा संलग्न देखिएका करिब चार सय कर्मचारीको विवरण लगेको छ ।

छानबिनका क्रममा अख्तियारले जोशीको पनि विवरण विभागबाट लगेको छ । अर्थात् जोशी नक्कली सवारी लाइसेन्सको छानबिनमा प्रत्यक्षतः जोडिएका पात्र हुन् ।

लाइसेन्ससँग जोडिएका विभिन्न आपराधिक र गैरकानुनी गतिविधिमा विभिन्न पाटोबाट सिआइबीले छानबिन थालेपछि उनी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएर गएका थिए ।

गत चैत अन्तिमताका सरुवा भएका उनी सात महिनापछि पुनः विभाग फर्किएका हुन् ।

विभागमा रहेका कम्प्युटर इन्जिनियर दीपककुमार झालाई सरुवा गरेर त्यहाँ जोशी आएका हुन् ।

जोशी यसअघि पनि एक वर्ष विभागमै कम्प्युटर इन्जिनियरमा कार्यरत थिए ।

विभागका महानिर्देशक राजीव पोखरेल भने कर्मचारीको सरुवा नियमित विषय भएको बताउँछन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएपछि उचित जिम्मेवारी तोकिएको उनले बताए ।

‘कसैले गलत गरेको छ भने अख्तियारले हेरिहाल्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘अख्तियारले हेरिरहेको छ भनेर कामै नगर्ने भन्ने हुँदैन, कि गलत पुष्टि हुनुपर्‍यो । अनुसन्धान भइरहेको छ भन्ने आधारमा सरुवा गर्न नहुने भन्ने तर्क गलत छ ।’

यसअघि पनि नक्कली सवारी लाइसेन्स प्रकरणमा आरोपित उपसचिवलाई विभागमा सरुवा गरेर ल्याइएपछि विवाद भएको थियो ।

विवाद भएपछि उनको सरुवा रोकिएको छ । सरुवा भएको छोटो अवधिमै उनी पुनः विभागमै फर्कनुले गम्भीर आशंका जन्माएको छ ।

छानबिनमै परेका व्यक्ति पुरानै काममा फर्कँदा अनुसन्धानमा बाधा पुर्‍याउने र कमजोर बनाउने जोखिम हुने अख्तियारका एक अधिकारीले बताए ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *