हवाईभाडा वृद्धि नियन्त्रण गर्न वायुसेवा सहमत

हवाईभाडा वृद्धि नियन्त्रण गर्न वायुसेवा सहमत : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको उडान कटौतीका कारण अत्यधिक बढाइएको हवाईभाडा नियन्त्रणका लागि वायुसेवा कम्पनीहरू सहमत भएका छन् ।

शनिबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को अगुवाइमा बसेको संयुक्त छलफलमा हवाईभाडा वृद्धि नियन्त्रण गर्ने सहमति भएको हो ।

क्यानका महानिर्देशक प्रदीप अधिकारी, पर्यटन, परराष्ट्र, श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधि, त्रिभुवन विमानस्थलका महाप्रबन्धक, वायुसेवा कम्पनीका प्रतिनिधिबिच छलफल भएको थियो ।

छलफलपछि ट्राभल एजेन्सीलाई एकमुस्ट टिकट बिक्रीको अधिकार खारेजदेखि हवाईभाडाको सूची सार्वजनिक गर्नुपर्नेसम्मका निर्णय गरिएको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

वायुसेवा सञ्चालकले ट्राभल एजेन्सीहरूलाई पछि टिकट बिक्री गर्ने गरी एकमुस्ट रूपमा दिएको टिकट बिक्रीको अधिकार खारेज गरिएको छ ।

त्यस्तै, सबै वायुसेवा सञ्चालकहरूले द्विपक्षीय हवाईसेवा सम्झौताको प्राइसिङ शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाईभाडा असुल गर्न नहुने’ प्रावधानको पूर्णता पालना गर्नुपर्नेछ ।

वायुसेवा सञ्चालकहरूले हवाईभाडा सूची तोक्ने र सार्वजनिक गर्नुपर्ने भएको छ ।

ट्राभल एजेन्सीहरूसँग टिकट बिक्रीको सम्झौता गर्दा निश्चित संख्या मात्र बिक्री गर्न सकिने र तोकिएको परिधिभित्र रहेर मात्र सेवा शुल्क लिने सहमति भएको छ ।

यस्तो व्यवस्था मिलाउने जिम्मेवारी सम्बन्धित वायुसेवा सञ्चालकलाई नै दिइएको छ ।

तोकिएबमोजिमको हवाईभाडा मात्र कायम राख्ने जिम्मेवारी वायुसेवा सञ्चालकको हुने र वायुसेवा सञ्चालकहरूले उपभोक्ता अधिकार सुनिश्चित हुने गरी कार्य गर्नुपर्ने निर्णय गरिएको छ ।

मिलेमतोमा सिन्डिकेट र कार्टेलिङ गरी हवाईभाडा बढाएर टिकट बिक्री गरेमा कारबाही गर्ने सरकारले निर्णय गरेको छ ।

अटेर गर्ने वायुसेवा कम्पनीको उडान रोक्नेसम्मको कारबाही हुन सक्ने व्यवस्था छ ।

उडान कटौतीका कारण हवाईभाडा अचाक्ली बढेपछि वैदेशिक रोजगारीमा जाने श्रमिक, अध्ययनका लागि जाने विद्यार्थीदेखि पर्यटकसम्म प्रभावित भएका छन् ।

काठमाडौंमा राति १० बजेपछिका सबै उडानहरू कटौती भएपछि महँगो मूल्यमा समेत टिकट नपाएको यात्रुहरूले गुनासो पोखेका छन् ।

त्रिभुवन विमानस्थल बन्दको बहाना बनाएर भाडा बढाएको भन्दै शुक्रबार पर्यटनमन्त्री बद्री पाण्डेले परराष्ट्रमन्त्री आरजु राणा र श्रममन्त्री शरतसिंह भण्डारीसहित म्यानपावर व्यवसायीसँग छलफल गरेका थिए ।

ट्याक्सी वे निर्माणका लागि त्रिभुवन विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द गरिएको छ ।

दैनिक २१ घण्टा उडान हुँदै आएकोमा अब दैनिक १४ घण्टा मात्र उडान हुने भएपछि अन्तर्राष्ट्रिय गन्तव्यका हवाई टिकटको हाहाकार भएको एक ट्राभल व्यवसायीले बताए ।

अभावको मौका छोपेर वायुसेवा कम्पनी र ट्राभल एजेन्सीहरूले हवाई टिकटको मूल्य पनि तीन गुणासम्म बढाएको यात्रुको गुनासो छ ।

हवाई टिकटको मूल्य एकाएक अकासिँदा यात्रुहरू ठुलो मर्कामा परेका छन् ।

सामान्य समयमा १०–११ हजार रहेको काठमाडौं–दिल्ली हवाईभाडा बढेर ४०–४५ हजार रुपैयाँ पुगेको छ ।

२५ देखि ४० हजारसम्म पर्ने खाडी देशहरूको टिकटको मूल्य बढेर एक लाख नाघेको ट्राभल व्यवसायी बताउँछन् ।

खासगरी खाडी मुलुकमा यात्रा गर्नेहरू, श्रम गर्न जानेहरू हुने गरेका छन् ।

शुक्रबार मन्त्रीहरूको बैठकमा श्रमिकलाई दिल्लीबाट उड्न दिने र भैरहवामा थप अन्तर्राष्ट्रिय उडान गर्न पहल गर्ने निष्कर्ष निकालिएको छ ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अन्तर्राष्ट्रिय हवाई टिकटको नाममा केही एयरलाइन्स कम्पनी र ट्राभल एजेन्सीहरूले कृत्रिम अभाव सिर्जना गरी तीन गुणासम्म भाडादर बढाएको आरोप लगाएको छ ।

दिल्लीबाट उडान गर्न पनि वैदेशिक रोजगार विभागको श्रम स्वीकृति भए पनि परराष्ट्र मन्त्रालय वा मातहतको पत्र नभएमा भारतको अध्यागमनले सहजीकरण नगरेको एसोसिएसनको जिकिर छ ।

श्रम स्वीकृति लिएका कामदारले भारतबाट उडान गर्नका लागि परराष्ट्र मन्त्रालयले ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) देखाउनुपर्ने हुन्छ ।

परराष्ट्रमन्त्री आरजु राणाले तत्काललाई दिल्लीबाट उडान गर्नका लागि दूतावासमार्फत पहल गर्न अनुरोध गर्ने बताएकी थिइन् ।

वैदेशिक रोजगारीमा जानेहरूका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि रोक लगाइएको थियो ।

पर्यटनमन्त्री पाण्डेले निगमसँग पर्याप्त विमान नहुँदा पनि समस्या देखिएको छलफलमा बताएका थिए ।

विमानस्थल बन्दको मौका छोपेर कतिपय वायुसेवा र ट्राभल एजेन्सीले बठ्याइँ गरेको एक व्यवसायीले बताए ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *