सिचुवानले १३४ यात्रुसहित आज दोस्रो चार्टर्ड उडान गर्दै

सिचुवानले १३४ यात्रुसहित आज दोस्रो चार्टर्ड उडान गर्दै: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए)मा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको चीनको सिचुवान एयरलाइन्सले १७ महिनापछि पुनः दोस्रो उडान गर्ने भएको छ ।

विमानस्थल सञ्चालनमा आएको १७२औँ दिनमा  (६ असार ०८० मा) सिचुवानले पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो ।

चीनको छेन्दु विमानस्थलबाट आएको सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमानले चार्टर्ड उडानमार्फत पोखरामा अवतरण गरेको थियो ।

१७ महिनापछि कुनमिङ विमानस्थलबाट आउने एयर बस ३१९ विमान बिहीबार दिउँसो १४:४० मा पोखरामा अवतरण गर्नेछ ।

सो विमान दिउँसो १६:१५ बजे काठमाडौंका लागि उड्ने विमानस्थलकी सूचना अधिकारी जसोदा सुवेदीले जानकारी दिइन् ।

नेपाल र चीनबिचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यसहित २४ कात्तिकमा पोखरामा हुने तेस्रो संस्करणको ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता’मा सहभागी हुन आउने चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र अन्य व्यक्तिहरू चार्टर्ड उडानमार्फत  पोखरा आउन लागेका हुन् ।

प्रतियोगिताका आयोजकमध्येको एक हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्व शंकर पालिखेले विमानबाट एक सय ३४ जना यात्रु पोखरा आउने जानकारी दिए ।

प्रतियोगितामा नेपाल र चीनका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने उनको भनाइ छ ।

यसअघि ८ र ९ असार ०८० मा पोखराको फेवातालमा सम्पन्न दक्षिण एसियामै पहिलोपटक नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ मा सहभागी हुन चिनियाँ टोली आएका थिए ।

यो नै पोखरामा भएको पहिलो अन्तर्राष्ट्रिय उडान हो ।

१७ पुसमा ०७९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको विमानस्थल ११ फागुन ०८० मा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि तयार भएको थियो ।

१८ फागुन ०७९ देखि रात्रिकालीन उडान सुरु भएको विमानस्थलमा चार्टर्ड उडान भए पनि नियमित अन्तर्राष्ट्रिय उडान कहिलेबाट हुन्छ भन्नेमा हालसम्म कुनै अत्तोपत्तो छैन ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *