बिपी राजमार्ग पुनर्निर्माण

बिपी राजमार्ग पुनर्निर्माण: १०–१२ असोजमा भएको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले क्षतिग्रस्त भएको बिपी राजमार्ग पुनर्निर्माण गर्न ‘जिओग्रिड वाल’देखि ‘भायाडक्ट’सम्म गरिने भएको छ ।

नयाँ इन्जिनियरिङ डिजाइन तथा प्रविधि प्रयोग भएमा करिब सात अर्ब थप लगानी चाहिने पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुमान छ ।

क्षतिग्रस्त आवश्यकताका आधारमा कतिपय ठाउँमा भायाडक्ट पुल बनाउन सकिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बताए ।

यसको लागत महँगो हुने हँुदा आवश्यकताका आधारमा यस्तो पुल बनाउन सकिने उनको भनाइ छ ।

 पहिला तलबाट ‘वाल’ उठाएर र कम मात्रामा भित्ता कटान गरेर सडक निर्माण गरिएको थियो ।

तर, अहिले रोशी खोलामा अस्वाभाविक रूपमा बाढी आउँदा सडक बगाएको छ । आगामी दिनमा यस्ता बाढी आए पनि थेग्ने गरी सडकको पुनर्स्थापना गर्ने सरकारको लक्ष्य छ ।

पुरानै प्रविधिमा सडकको पुनर्स्थापना गर्दा भविष्यमा आउन सक्ने यस्तै बाढीपहिरोले पुनः सडक बगाउनेलगायत समस्या आउन सक्छन् ।

भायाडक्ट नबनाएमा अब पनि भित्ता काट्ने वा तलबाट वाल उठाएर नै सडक बनाउनुपर्छ । त्यस क्रममा भित्ता कटान गर्ने ठाउँमा पहिरो रोक्ने प्रविधि प्रयोग गर्ने बताइएको छ ।

तलबाट वाल उठाउने ठाउँमा भने बाढीको बहाव थेग्ने प्रविधि प्रयोग गर्ने मन्त्रालयको योजना छ । अधिकांश ठाउँमा ‘जिओग्रिड वाल’ पनि बनाउने योजना मन्त्रालयको छ ।

रोशी नदीमा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशीदेखि नेपालथोकसम्मका विभिन्न ठाउँमा गरेर १२ किलोमिटर सडक बगाएको छ ।

सो स्थानमा सडक पुनर्स्थापना गर्न कम्तीमा पनि सात अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले बताए ।

‘यो विस्तृत अध्ययन गरेर नै अनुमान गरिएको रकम होइन ।

क्षतिको मूल्यांकन, हामीले प्रयोग गरिने लागत अनुमानको सूत्रलगायतका आधारमा यतिको लगानी चाहिने अनुमान गरिएको हो,’ उनले भने, ‘तर, नयाँ डिजाइन तथा प्रविधि प्रयोग गर्नुपरेमा थप लगानी चाहिन सक्छ ।’

२५ असोजदेखि अस्थायी रुट बनाएर उक्त राजमार्गमा यातायात सञ्चालन गरिसकिएको छ । अब त्यहाँ ‘वासवाउट’ भएको सडकलाई पुनर्स्थापना गर्नेसम्बन्धी योजना बनाउन मन्त्रालय र सडक विभाग अघि बढेका छन् ।

त्यसका लागि झन्डै साढे दुई वर्ष समय लाग्ने प्रारम्भिक अनुमान गरिएको सडक विभागका उपमहानिर्देशक तथा सम्भार महाशाखाका प्रमुख अर्जुनप्रसाद अर्यालले बताए ।

‘विस्तृत अध्ययन गरेर पुनर्निर्माणको तालिका तय गर्न बाँकी छ । तर, अझै चार–पाँच महिना सडक कसरी पुनर्स्थापना गर्नेलगायत योजना बनाउनै लाग्छ ।

जापानले बनाएको सडक हुनाले पुनर्निर्माणका लागि जापानसँग पनि समन्वयन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसपछि निर्माणकै काम गर्न भने थप दुई वर्षजति लाग्न सक्छ । तर, दैनिक तीन सिफ्ट (सत्र)मा काम गर्न सकियो भने कम समय पनि लाग्न छ ।’

बिपी राजमार्गमा भएको क्षति र पुनर्निर्माणमा जापान आफैँले पनि चासो देखाएको छ ।

केही दिनअघि जापानको टोकियोमा एसिया प्यासिफिक रोड सेफ्टी अब्जर्भेटरी (एपिआरएसओ)को बैठकमा भाग लिन मन्त्रालयका सहसचिवसमेत रहेका प्रवक्ता ढकालसँग जाइकाका एक उच्च अधिकारीले भेट गरेका थिए ।

भेटमा उक्त अधिकारीले नेपालको अपेक्षा के हो भनेर बुझ्न खोजेका थिए ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *