स्रोतमै फोहोर वर्गीकरण गर्न महानगरको पुन: आग्रह

स्रोतमै फोहोर वर्गीकरण गर्न महानगरको पुन: आग्रह: काठमाडौं महानगरपालिकाले महानगरवासीलाई स्रोतमै फोहोर वर्गीकरण गर्न प्रोत्साहन गर्न वडाहरूलाई पुनः आग्रह गरेको छ ।

सोमबार सूचना जारी गर्दै महानगरअन्तर्गत वातावरण विभागले यस्तो आग्रह गरेको हो ।

‘काठमाडौं उपत्यकाका सबै स्थानीय तहबाट उत्सर्जन हुने फोहोरमैला अन्तिम विसर्जनस्थल बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा विसर्जन हुँदै आइरहेको फोहोरमैलाको परिणाम दिनप्रतिदिन बढ्न गई उक्त ल्यान्डफिल साइटको आयुसमेत घट्नुको साथै फोहोरमैला संकलन र ढुवानीमा लाग्ने खर्चमा समेत बढोत्तरी भई महानगरपालिकाले व्यहोरिरहेको आर्थिक कार्यभारप्रति गम्भीर हुनुपर्ने दीर्घकालीन सोचका साथ महानगरपालिका अगाडि बढिरहेको व्यहोरा अनुरोध छ,’ विभागबाट जारी सूचनामा भनिएको छ, ‘गत वर्षदेखि नै महानगरका केही वडामा घर–घरबाट उत्सर्जित फोहोरमैलालाई स्रोतमै पृथकीकरण गरी संकलन र ढुवानी भइरहेकाले चालू आर्थिक वर्ष ०८१/०८२ मा पनि सोहीअनुसार ३२ वटै वडावासीलाई वडा क्षेत्रभित्र उत्सर्जित फोहोरमैला स्रोतमै वर्गीकरण गर्न प्रोत्साहित गराई फोहोरमैला संकलन र ढुवानी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग गरिदिनुहुन वडा कार्यकालमा अनुरोध गरिन्छ ।’

महानगरले वैशाख ०७९ मा सूचना जारी गर्दै सोही वर्षको १ साउनदेखि स्रोतमै फोहोर वर्गीकरण गर्नुपर्ने उल्लेख गरेको थियो ।

तर, उक्त निर्णय कार्यान्वयन भएको थिएन ।

महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, ०७७ र फोहोरमैला व्यवस्थापन ऐन, ०६८ को हवाला दिँदै स्रोतमै फोहोर पृथकीकरण गर्न आग्रह गरेको थियो ।

घर वा कार्यालयमै फोहोर नछुट्याए वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, ०७७ र फोहोरमैला व्यवस्थापन ऐन, ०६८ अनुसार कसुर मानी प्रत्येकपटक पाँच सय रुपैयाँ जरिवाना गर्ने जनाएको थियो ।

तर, महानगरले आफ्नोतर्फबाट तयारी पुर्‍याउन नसक्दा फोहोर छुट्याए पनि त्यसले निरन्तरता भने पाउन सकेको थिएन ।

महानगरले गत वैशाखबाट भने स्रोतमै फोहोर वर्गीकरण अभियान थाल्यो ।

हाल भने अभियान सकारात्मक रूपमा अगाडि बढिरहेको महानगरले जनाएको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *