थाई एयर एसियाको उडान: विना अनुमति बलजफ्ती आइतबार नेपाल आएको थाई एयर एसियालाई मिलेमतोमा यात्रुसहित फर्किन दिइएको छ ।
यात्रुको सुरक्षा र मानवीयता हेरेर अवतरणको अनुमति दिए पनि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जहाज कम्पनीको सम्पूर्ण उडान र जिएसए इजाजत निलम्बन गरको थियो ।
तर, आइतबारै भरिभराउ यात्रुसहित फर्किन दिएपछि उक्त विमानको अनधिकृत उडानमा क्यान र जिएसए कम्पनी युनिभर्सल टुर्स एन्ड ट्राभल्सको मिलेमतो रहेको पुष्टिजस्तै भएको छ ।
सामान्यतः टिकट काटेका यात्रुको जिम्मा जहाज कम्पनी र जिएसएले लिने भएकाले उनीहरूले नै अन्य व्यवस्था गरेर यात्रुलाई गन्तव्यमा पठाउनुपर्ने भए पनि क्यान आफैँले अग्रसरता लिएजस्तो देखिएको क्यानका एक उच्च अधिकारीले बताए ।
‘यात्रुको सुरक्षा र मानवीयताको पक्ष हेरेर अवतरणको अनुमति दिइनु उड्डयन नियमअनुसार उचित निर्णय थियो, तर कारबाहीमा परेको विमान कम्पनीलाई पुनः भरिभराउ यात्रुसहित उडान गर्न दिनु अस्वाभाविक हो, यसले यो सिंगो घटनामै मिलेमतो भएको देखाउँछ,’ उनले भने ।
अनधिकृत रूपमा नेपाल आएको जहाजमा फर्किने यात्रुको टिकट पनि पहिल्यै काटेकाले मिलेमतो भएको देखिन्छ ।
क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतमले पनि नेपाली आकाशमा प्रवेश गरिसकेपछि जहाजलाई सुरक्षित अवतरण गराउनु सकारात्मक रहेको भए पनि यात्रु बोकेर फर्कन दिइएको विषय अस्वाभाविक भएको बताए ।
‘यात्रु बोकेर किन फर्किन दिइयो ? यस विषयमा क्यानले कुनै न कुनै प्रक्रिया पक्कै अपनायो होला,’ उनले भने ।
समर सेड्युलअनुसार थाई एयर एसियाले नेपालमा उडान गर्न लिएको अनुमतिको म्याद गत शनिबारसम्म थियो ।
आइतबारदेखि सुरु भएको विन्टर सेड्युलका लागि नयाँ उडान अनुमति लिनुपर्ने थियो ।
तर, उसले बलजफ्ती रूपमा विमान नेपाली आकाशमा प्रवेश गराएको थियो ।
अनुमति नै नलिई डेढ सयभन्दा बढी यात्रु बोकेर दिउँसो २ बजे प्रवेश गरेको जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अवतरणका लागि अनुमति नभएको र डाइभर्ट गर्न भनेपछि आकाशमै करिब पौने घण्टा फन्को मारेको थियो ।
पछि यात्रुको सुरक्षा र मानवीयताको पक्ष हेरेर अवतरणको अनुमति दिइएको थियो ।
लगत्तै अर्को निर्णय नभएसम्मका लागि थाई एयर एसियाका सम्पूर्ण उडान र जिएसए इजाजत निलम्बन गरेको क्यानले आइतबारै जहाज फर्किँदा यात्रुसहित जान दिएको थियो ।
विशेष चार्टर्ड फ्लाइटको हैसियत दिएर फर्काइएको हो । क्यान प्रवक्ता हंसराज पाण्डेले टिकट काटेर विमानस्थल आइसकेका यात्रुहरू अलपत्र नपरून् भनेर यात्रुवाहक उडान गर्न अनुमति दिएको दाबी गरे ।
‘उडान अनुमति नलिई थाई एयर एसिया आउनै हुन्थेन । नेपालको जिएसएले अवतरण गर्न पाइहालिन्छ भनेपछि यात्रुसहित आएको देखिन्छ,’ उनले भने, ‘यात्रु बोकेर आइसकेको जहाजलाई मानवीयताका आधारमा अवतरण गर्न दिइयो, टिकट काटिसकेका यात्रुलाई अलपत्र पार्नुहुँदैन भनेर फेरि यात्रुवाहक उडान गर्न दिने निर्णय भयो ।’
नियामकले जिएसएलाई चिन्ने र उसलाई नै बढी जिम्मेवार बनाउने पाण्डेले बताए ।
‘जिएसएले टिकट बिक्री गरेपछि यात्रुले किनेका हुन्, यहाँ यात्रुको दोष थिएन,’ पाण्डेले भने, ‘यात्रुलाई दुःख नै नदिई गन्तव्यमा पुग्ने अवसर दिइयो ।’
क्यानले थाई एयर एसियाको सम्पूर्ण उडान र जिएसए इजाजत अर्को निर्णय नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।
विन्टर सेड्युल अनुमति नहुँदा नहुँदै पनि युनिभर्सल ट्राभल्सले टिकट बुकिङ लिएको थियो ।
अब थाई एयर एसियाले नेपालमा उडान गर्न नपाउने हुँदा यसपछिका उडानमा टिकट काटिसकेका यात्रुलाई अरू उडानमा व्यवस्थापन गरेर गन्तव्यमा लैजानुपर्ने हुन्छ ।
जहाज कम्पनीले अनुमति नलिई उडान गर्नु गल्ती भएको भन्दै माफी मागेको छ ।
जिएसए कम्पनीले अन्तिम समयमा अवतरण अनुमति पाइन्छ भनेर भनेपछि आफूहरूले उडान गरेको कम्पनीको जिकिर छ ।
Visit homepage : eautonepal.com