टीकापुर विमानस्थलमा परीक्षण उडान

टीकापुर विमानस्थलमा परीक्षण उडान: कैलालीको टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले सोमबार परीक्षण उडान गरेको छ ।

नेपालगन्जबाट उडेको विमान दिउँसो १ बजे टीकापुर विमानस्थलमा अवतरण भएको हो ।

टीकापुर नगरपालिकाले विमानस्थलमा सांस्कृतिक झाँकी देखाएर परीक्षण उडानका लागि आएको विमानका चालक र नागरिक उड्डयन प्राधिकरणको टोलीलाई स्वागत गरेको थियो ।

परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल, क्याप्टेन महेश विष्ट, उज्ज्वल सिलवाल, इन्जिनियर सम्राट प्रधानलगायतको प्राविधिक टोली टीकापुर आएको थियो ।

कैलालीका बासिन्दासमेत रहेका संस्कृति, पर्यटन राज्यमन्त्री अरुण चौधरीले विमानस्थल पुगेर टोलीको स्वागत गरेका थिए ।

सो अवसरमा राज्यमन्त्री चौधरीले टीकापुर नियमित उडानका लागि पहल गर्ने बताए ।

०४२ सालमा सञ्चालनमा आएको यो विमानस्थल ०५४ सालदेखि बन्द छ ।

टीकापुर विमानस्थलको धावनमार्गको लम्बाइ पाँच सय ७३ मिटर मात्रै रहेकाले यहाँ ठुला विमान अवतरण गर्न मिल्दैन ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार टीकापुर विमानस्थलमा ट्विनअटरसरहका विमान मात्र सञ्चालन गर्न सकिन्छ ।

टीकापुर विमानस्थल सञ्चालन हुन नसक्नुका कारणमा ट्विनअटर विमानको अभाव तथा ९७ किलोमिटरको दूरीमा नेपालगन्ज विमानस्थल र ८८ किलोमिटरको दूरीमा धनगढी विमानस्थलमा ७२–८० सिट क्षमताका जहाज सञ्चालनमा रहनु मानिन्छ ।

त्यस्तै, धनगढी र नेपालगन्ज नजिक पर्ने भएकाले निजी विमान कम्पनी टीकापुरमा उडान गर्न इच्छुक नदेखिएको उल्लेख छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *