नेपाली आकाशमा थाई एयर एसियाको बलजफ्ती: अनुमतिविना नै यात्रुसहितको जहाज प्रवेश गराएर थाई एयर एसियाले नेपाली आकाशमा बलजफ्ती गरेको छ ।
उडान सेड्युलको अनुमति नलिई जहाज नेपाल आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले थाई एयर एसियाका सम्पूर्ण उडान र जिएसए इजाजत निलम्बन गरेको छ ।
थाई एयर एसियाको नेपालका लागि जनरल सेल्स एजेन्ट (जिएसए) युनिभर्सल टुर्स एन्ड ट्राभल्स कम्पनी हो ।
यो फ्लाई दुबई, इमिरेट्स र कोरियन एयरको पनि जिएसए हो । कोरियन एयरले त टिकेटमा लुट नै मच्चाएको छ ।
आइतबारदेखि सुरु भएको विन्टर सेड्युलमा थाई एयर एसियाले उडान अनुमति पाएको छैन । उसलाई दिइएको ‘समर सिजन’को उडान अनुमति म्याद शनिबार नै सकिएको थियो ।
विन्टर सिजनमा उडान अनुमति नपाएको थाहा हुँदाहुँदै पनि बलजफ्ती यात्रुसहितको जहाज प्रवेश गराएको हो ।
डेढ सयभन्दा बढी यात्रु बोकेको जहाज दिउँसो २ बजे नेपाली आकाशमा प्रवेश गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अवतरणका लागि अनुमति नभएको र डाइभर्ट गर्न भनेपछि जहाज आकाशमा करिब पौने घण्टा फन्को मारेको थियो ।
यात्रुको सुरक्षा र मानवीयताको पक्ष हेरेर अवतरणको अनुमति दिइएको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।
अर्को निर्णय नभएसम्मका लागि थाई एयर एसियाका सम्पूर्ण उडान र जिएसए इजाजत निलम्बन गरेको भुलले बताए ।
नियमनकारी निकायबाट अनुमति नै नलिई जहाज नेपालका लागि उड्यो रे भन्ने सूचना पाउँदा आश्चर्यमा परेको उनको भनाइ छ ।
‘यसमा यात्रुको दोष थिएन । वायुसेवा कम्पनी र नेपालस्थित जिएसए कम्पनीको दोष थियो,’ उनले भने, ‘यात्रुको बिचल्ली नहोस् भनेरै विशेष उडान भनेर अवतरण अनुमति दिएका हौँ ।’
यो घटनाबाट थाई एयर एसिया र युनिभर्सलले जानाजान नियम उल्लंघन गरेको देखिन्छ ।
‘कतिसम्म भने स्वीकृति नभएको स्पष्ट हुँदाहुँदै पनि उनीहरू बैंककबाट उडिसकेपछि काठमाडौंमा स्वीकृति मिलाउन सकिन्छ भन्नेमा ढुक्क भएर आएको देखिन्छ,’ त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल स्रोतले भन्यो, ‘यो त जानाजान नियमको गम्भीर उल्लंघन हो ।’
थाई एयर एसियाले माफी मागेपछि क्यानले आइतबार नै जहाज फिर्ता गरिदिएको छ ।
काठमाडौंबाट यात्रु बोकेरै जहाज साँझ ७ बजेतिर बैंककतर्फ फर्किएको भुलले बताए ।
युनिभर्सल टुर्स एन्ड ट्राभल्स चार विदेशी वायुसेवा कम्पनीको नेपालका लागि जिएसए हो ।
यो कम्पनीले कोरियन एयर, इमिरेट्स, फ्लाई दुबई र एयर एसियाको फ्लाइट व्यवस्थापन गर्ने गर्छ ।
यसबाहेक कम्पनी युनिभर्सल यात्रा, श्रीलंकन एयरलाइन्स कार्गो, एसआर हाउजिङ, युनिभर्सल रेमिट्यान्स, ओएमए नेपाल, दी हिमालयन वाटरलगायत कम्पनीमा आबद्ध छ ।
Visit homepage : eautonepal.com