बांगे–धरान जोड्ने सडक बेहाल: निराजन बस्ती हुँदै कन्यापोखरी जस्तै अवस्था छ, बांगेदेखि धरान जोड्ने सडकको । १३.५ किलोमिटरको यो सडक अलपत्र पार्ने पनि ठेकेदार कम्पनी पनि लुम्बिनी गजुरमुखी जेभी नै हो । पाँच वर्षअघि निर्माण सुरु भएको यो सडक अझै अधुरै छ ।
सुनसरी महेन्द्रनगरको बांगे कालाबन्जारहुँदै धरान जोड्ने सडकमा जोड्ने यो सडक निर्माण नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन् ।
लुम्बिनी गजुरमुखी जेभीले ठेक्का लिएको सडक सडकको केही ठाउँमा कालोपत्रे भएको छ, बाँकी स्थानमा धुलाम्मे सडक छ ।
धुलोका कारण स्थानीयको दैनिकी अस्तव्यस्त बनेको स्थानीय सुभास बस्नेतले बताए ।
ठेकेदारले काम नगर्दा जनताले दुःख पाएको बताउँदै उनले भने, ‘तपार्इंहरु काम नगरी काठमाडौँ बस्नुहुन्छ, गाउँमा धूलो हामीले खानुपर्छ ।’
२०७६ भदौ १२ गते दुई वर्षभित्र सक्नेगरी यो सडक निर्माणको सम्झौता भएको थियो ।
३७ करोड २३ लाखमा ठेक्का लागेको यो सडकको लागत भेरियसनसहित पटकपटक म्याद थप हुँदा ४० करोड २७ लाख पुगेको छ ।
करिब ८० प्रतिशत काम सकिएको यो सडकको साइट अझै क्लियर भइसकेको छैन । निर्माण क्षेत्रमा पर्ने केही रुख कटान अनुमति नहुँदा ठेकेदारले बहाना बनाइरहेका छन् ।
स्थानीयले सडक निर्माण नभएको गुनासो गरेपछि ठेकेदार प्रतिनिधि गौतमले भने, ‘हाम्रो समस्या चाहिँ कसले बुझिदिन्छ, रुख कटान अझै भएको छैन, हामीले कसरी काम गर्नु ?’
जंगलमा रुखलाई देखाएर काम गर्न नसकेको जवाफ दिएका गौतमले बस्ती र बजार क्षेत्रमा काम गरेको दाबी गरे ।
पेटी ठेकेदारलाई जिम्मेवारी दिँदा काम हुन नसकेका कारण आफैं आएर काम गर्ने उनले बताए ।
मन्त्री भूपेन्द्र राई, राज्यमन्त्री भूमी राज्यमन्त्री सहभागी भएको छलफलमा उनले काम सुरु गर्नका लागि मंसिर ५ गतेसम्मको समय मागे ।
तर स्थानीयले असहमति जनाए, मन्त्री राईले समन्वय गरेपछि मंसिर १० गते भित्र काम सुरु गर्ने माइन्युट बन्यो ।
अब मंसिर १० गतेसम्म ठेकेदारले स्थानीय जनप्रतिनिधिको सम्पर्कमा पुगेर काम सुरु नगरे प्रदेशले ठेक्का रद्दको प्रक्रिया अघि बढाउनेछ ।
लुम्बिनी गजुरमुखी जेभीले धरान जोड्ने दुई वटै सडक निर्माणको ठेक्का पाएपछि अन्य ठेकेदारलाई पेटी ठेक्का दिएको थियो ।
सब कन्ट्याक्टरले काम नगर्दा समस्या भएको गजुरमुखीका सञ्चालक समेत रहेका गौतमले बताए ।
Visit homepage : eautonepal.com