पुल बनेपछि सडक सञ्जालमा जोडिए तिलाका दुर्गम क्षेत्र

पुल बनेपछि सडक सञ्जालमा जोडिए तिलाका दुर्गम क्षेत्र: जुम्लामा आठ स्थानीय तहका ६० वटा वडा छन् । यहाँको सबै स्थानीय तहका मुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् ।

६० वडामध्ये तिला गाउँपालिका ६, ७, ८ र ९ वडा अर्थात् तत्कालीन घोडेमहादेव र मालिकाठाँटा गाविस राष्ट्रिय सडक सञ्जालमा जोडिएका थिएनन् ।

तिला गाउँपालिका– १ रारालिहीस्थित तिला नदीमाथि मोटरेबल पक्की पुल निर्माण भएपछि यहाँका दुर्गम भेगमा पर्ने गाउँबस्ती लामो समयपछि राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् ।

यो क्षेत्रमा १३ वटा गाउँबस्ती रहेका छन् । यहाँका हरेक गाउँबस्तीमा पुग्ने ग्रामीण सडक खनिएपछि पुल निर्माण नभएकाले सवारीसाधन सञ्चालनमा आउन सकेका थिएनन् ।

यो दुर्गम क्षेत्रमा घोडेसिम, तुही, पोखरी, घोडे, सुडी, रिपी, ढिपु, राँसा, मालापानी, जुम्लाकोट, पुरु, माथिल्लो खोप्री र तल्लो खोप्री गाउँबस्ती अब सडकले जोडिएका छन् ।

तिलाका दुर्गम क्षेत्रलाई सडक सञ्जालमा जोड्नका लागि तिला नदीमाथि पक्की पुल निर्माण गर्नका लागि निकै प्रयास गर्नुपरेको गाउँपालिका निवर्तमान अध्यक्ष रतननाथ योगीले बताए ।

उनले भने, ‘संघीयतापछि स्थानीय तहको पहिलो पाँच वर्ष कार्यकालमा गाउँपालिकाको प्रशासकीय भवनदेखि अन्य थुप्रै भौतिक संरचना निर्माणका काम भए ।

हाम्रो कार्यकालमा केही आयोजना निर्माण सम्पन्न भइसकेका थिए भने केही निर्माणकै क्रममा रहेका थिए।’

पुल नबन्दा निकै जोखिमपूर्ण यात्रा गर्नुपरेको तिला– ६ का वडाध्यक्ष जंग रोकायाले बताए ।

उनले भने, ‘पुल निर्माणपश्चात् अब सहज हुने अपेक्षा गरिएको छ ।

खासगरी यो क्षेत्र रैथाने बाली उत्पादनको भण्डार हो । यहाँमा उत्पादन हुने आलु, सिमी, मकै, फापर, स्याउ, ओखर सहज रूपमा बजारीकरण हुनेछ ।’

तिला नदीमाथि मोटरेबल स्टिल ब्रिज पुल निर्माण सम्पन्न भएको खड्का निर्माण सेवाका सुमन खड्काले बताए। उनले भने, ‘सवारीसाधन आवतजावत गर्न मिल्ने भएको छ ।

केही पुलको छेउछाउमा ग्याबिन जाली राख्ने काम भइरहेको छ । सडक डिभिजन जुम्लाको भ्याटबाहेक १५ करोड बजेटमा खड्का निर्माण सेवाले पुल निर्माण गरेको हो ।

पुल निर्माण गर्ने तीन वर्ष ठेक्का सम्झौता भएपछि पहिलो पुलको डिजाइन नै फेल भयो ।’

दोस्रोपटक पुल निर्माणको पुनः डिजाइन गरेपछि एक वर्षमै पुल बनेको खड्का निर्माण सेवा जुम्लाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *