वीरगन्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

वीरगन्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो: मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगन्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ।

यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रूपमा वीरगन्ज चिनिन्छ।

यहाँबाट चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा रु. १२ अर्ब ६६ लाख ८० हजारबराबरको  एक लाख ३५ हजार पाँच सय १८ किलोलिटर हाइस्पिड डिजेल आयात भएको छ।

भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार गत आवको तीन महिनाको तुलनामा चालू आवको सोही अवधिमा हाइस्पिड डिजेलको आयात २५.३३ प्रतिशतले घटेको छ।

डिजेल आयात घटेसँगै राजस्व संकलन पनि २७.४३ प्रतिशतले घटेको छ।

मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत हाइस्पिड डिजेल पाइपलाइनबाट आयात हुने गरेको छ भने पेट्रोल ट्यांकरबाट नै ल्याउने गरिन्छ।

अमलेखगन्जस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यका अनुसार पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार्थको खपत घटेको हो।

पूर्वाधार तथा विकास निर्माणका गतिविधि बढ्नेबित्तिकै आयात बढ्ने उनको बुझाइ छ।

विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढेसँगै पेट्रोलियम पदार्थको खपत पनि घटेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले वर्षायाम र सरकारी निकायले निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नदिँदा निर्माण क्षेत्रले अपेक्षाकृत गति लिन नसकेको गुनासो गरे।

हाल निर्माणजन्य सामग्री र उपकरणको आयात घटेको छ। मनसुन र चाडपर्व सकिएपछि विकास निर्माणका गतिविधि चलायमान हुने उनको विश्वास छ।

चालू आवको तीन महिनामा पेट्रोल आयात पनि घटेको छ ।

चालू आवको असोज मसान्तसम्ममा रु. ६ अर्ब ५८ करोड ४६ लाख ८३ हजारबराबरको ७४ हजार ७१२ किलोलिटर पेट्रोल आयात भएको छ।

अघिल्लो आवको सोही अवधिमा पेट्रोलको आयात २२.५२ प्रतिशतले घटेको थियो।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *