कृषिमा आधुनिक यन्त्र प्रयोग: धनगढी उपमहानगरपालिका–६, जालीका किसान रामबहादुर चौधरी तोरी छर्नका लागि आइतबार पावर टिलरले खेत जोत्दै थिए ।
बाली लगाउने समयमा खेत खनजोत गर्न उनले आधुनिक यन्त्र प्रयोग गर्न थालेको करिब ६ वर्ष भयो ।
त्यसअघि गोरु र राँगाले खेत जोत्दै आएका चौधरी आधुनिक यन्त्र प्रयोग गर्न थालेपछि खेती गर्न निकै सहज भएको अनुभव सुनाउँछन् ।
‘गोरु, राँगाले खनजोत गरेर खेती लगाउन महिना दिन बित्थ्यो, गोरुले दिनभर जोत्नेजति खेत अहिले पावर टिलर र ट्याक्टरले केही घण्टामै जोतिसक्छ,’ उनले भने, ‘अहिले खेती गर्न सजिलो भएको छ, खेतीका लागि वर्षभरि गोरु स्याहार्नुपर्ने झन्झट पनि हटेको छ ।’
उनले अधियाँसहित दुई बिघा जमिनमा खेती गर्दै आएका छन् ।
चौधरीलाई पहिले दुई बिघा जमिनको धान काटेर भित्र्याउँदासम्म महिना दिन लाग्थ्यो । खेतीको सिजनमा परिवारका सदस्यलाई पानी पिउने फुर्सद हुँदैनथ्यो ।
कैयौँ दिन गोरु र राँगाले धान चुट्ने उनी अहिले केही घण्टामै थ्रेसरले धान चुटिसक्छन् ।
खेती लगाउन केही समय भाडामा कृषि यन्त्र प्रयोग गरेका उनले दुई वर्षअघि आफैँले पावर टिलर किने ।
त्यस्तै, कैलारी गाउँपालिकाको हसुलियाका लक्ष्मीप्रसाद डगौरा पनि हिजोआज बाली लगाउनदेखि भित्र्याउनेसम्मका काममा कृषि यन्त्रको प्रयोग गर्छन् ।
गाउँको कृषि प्रगति समूहमा आबद्ध उनलाई समूहले कृषि यन्त्र खरिद गरेपछि खेती लगाउन निकै सहज भएको छ ।
चौधरीका अनुसार समूहले ५० प्रतिशत सरकारी अनुदानमा करिब सात वर्षअघि चारवटा कृषि यन्त्र खरिद गरेको थियो ।
कृषि यन्त्रको प्रयोग गरेर खेती लगाउन थालेपछि लागत र समय दुवै घटाएको चौधरीले बताए ।
पावर टिलरले खेत राम्ररी खनजोत गर्नुका साथै र माटो मिलाउने भएकाले उत्पादनसमेत बढ्ने गरेको उनको दाबी छ ।
‘दिनभर गर्ने काम मेसिनले एक–डेढ घण्टामै गरिदिन थालेपछि सजिलो हुने नै भयो,’ उनी भन्छन्, ‘बाली लगाउन यन्त्र, उपकरणहरू प्रयोग हुन थालेपछि समय पनि बचत भएको छ ।’
अन्न उत्पादनको भण्डार मानिने कैलालीमा पछिल्ला वर्षमा कृषिमा यान्त्रिकीकरणको प्रयोग बढेको छ ।
अन्नबाली लगाउनका लागि खेत खनजोत गर्न, धान, गहुँ काट्न, चुट्न किसानले ट्याक्टर, हाते ट्याक्टर, थ्रेसर, कम्पाइनलगायत उपकरण प्रयोग गर्ने गरेका छन् ।
कृषिमा आधुनिक यन्त्रको प्रयोगले किसानको लगानी घटाएको छ भने समयको समेत बचत भएको छ ।
धान, गहुँ लगाउन तथा भित्र्याउन कृषि उपकरण प्रयोग गर्ने किसानको संख्या ९५ प्रतिशतभन्दा माथि रहेको कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख हरिप्रसाद पनेरूले बताए ।
यान्त्रिकीकरणले कृषिमा लागत घटाएको उनको भनाइ छ ।
Visit homepage : eautonepal.com