फ्लाइ दुबईले कात्तिकदेखि उडान गर्ने

फ्लाइ दुबईले कात्तिकदेखि उडान गर्ने: दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि मुलुकको दोस्रो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ ।

फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ उडानका लागि आजदेखि बुकिङ खुलाएको छ ।

सो कम्पनीको नेपालस्थित आधिकारिक एजेन्ट (जिएसए) युनिभर्सल टुर्स एण्ड ट्राभल्स रहेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईको विमान दिउँसो १ः४५ मा भैरहवा र २ः४५ मा काठमाडौँ आउनेछ ।

काठमाडौँमा एक घण्टा ‘टेक्निकल ल्याण्ड’ गरेर दुबई उड्नेछ ।

फ्लाई दुबईले भैरहवा विमानस्थलमा यात्रु ओरालेर त्यहाँबाट विदेश जाने यात्रुलाई ल्याएर काठमाडौँमा एक घण्टा रोकेर दुबई उड्नेगरी प्राधिकरणबाट अनुमति पाएको छ ।

टिकट र थप जानकारीलाई फ्लाई दुबईको वेबसाइटमा सम्पर्क गर्नसकिने जनाइएको छ ।

यस विमानस्थलमा कम्पनीको पहिलो उडान हो । हप्ताको सातै दिन दुबई-भैरहवा र भैरहवा-काठमाडौँ-दुबई उडान गर्न लागेको हो ।

यससँगै फलाई दुबईको उडान गन्तव्य सङ्ख्या एक सय १३ पुगेको छ भने ५३ देशमा यसको सेवा विस्तार भएको छ ।

यसैबीच फलाइ दुबईको उडान सञ्चालन टीमले पनि हालै विमानस्थलको भ्रमण गरेको महाप्रबन्धक तिवारीले बताए ।

यस उपलब्धिमा प्रधानमन्त्रीको विशेष निर्देशन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको सहयोग, मुख्यसचिवको पहल तथा नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्व र फ्लाई दुबईको नेपाल प्रतिनिधि युनिभर्सल टुर्स एण्ड ट्राभल प्रालिको समन्वयमा सम्भव भएको उनले बताए ।

यस्तै जजिरा एयरले पनि कात्तिक १२ गतेदेखि पुनःउडान सञ्चालन गर्दैछ ।

यसअघि १० महिना उडान गरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनःसोही विमानस्थलमा उडान सुरु गर्न लागेको जनाइएको छ ।

जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।

जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आएर ८ बजेर ३० मिनेटमा कुवेत उड्ने गरी अनुमति पाएको विमानस्थलले जनाएको छ ।

दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो ।

प्राविधिक कारण देखाउँदै १० महिनापछि उडान स्थगित गरिएको थियो ।

त्यसैगरी थाई एयर एसियाले पनि छिट्टै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएको छ ।

उक्त एयरलाइन्सको प्राविधिक टोलीले हालै गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको थियो ।

दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजनाअनुरूप गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक तिवारीले बताए ।

“सरकारको कार्ययोजनाअनुरूप विशेष पहलकदमीमा अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण बनाउन लागिएको छ”, उनले भने,“अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको छ ।”

सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णक्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ ।

सोही योजनाअनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान गर्न लागेका हुन् ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *