पेट्रोल पनि अब पाइपलाइनबाट: भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म निर्माण गरिएको पेट्रोलियम पाइपलाइनबाट डिजेल ढुवानी हुँदै आएकामा अब पेट्रोल पनि आउने भएको छ ।
२०७६ मा पाइपलाइन निर्माण भएपछि अहिलेसम्म डिजेल आयात भइरहेको थियो ।
अब यही पाइपलाइनबाट पेट्रोल पनि आयात हुने भएको हो ।
पेट्रोल राख्नका लागि भण्डारण गर्ने ट्यांक नबनाएका कारण पाइपलाइन बने पनि पेट्रोल आयात गरिएको थिएन । अहिले भण्डारण गर्ने ट्यांक निर्माण अन्तिम चरणमा छ ।
नेपाल आयल निगमका प्रवक्ता पूर्णप्रसाद रिजालले अब चाँडै पाइपलाइनबाट पेट्रोल आयात गर्ने तयारी भएको जानकारी दिए ।
उनका अनुसार पाइपलाइनबाट यही अक्टोबर ४ तारिखमा करिब ५ हजार किलोलिटर पेट्रोल परीक्षणका लागि आयात गरिएको थियो ।
पाइपलाइनबाट आयात भएको पेट्रोल भण्डारणका लागि निर्माण भइरहेको भण्डारण गृह निर्माण अन्तिम चरणमा पुगेको र यो बन्नेबित्तिकै पेट्रोल आयात हुने उनले बताए ।
उनका अनुसार एक महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी तयारी भइरहेको छ ।
निगमले पाइपलाइन निर्माण गर्दा नै पहिलो चरणमा डिजेल आयात गर्ने र दोस्रो चरणमा पेट्रोल ल्याउने गरी कार्ययोजना बनाएको थियो ।
पाइपलाइन निर्माण भएपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७६ भदौ २४ मा संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
निगमका अनुसार पाइपलाइनबाट पेट्रोल आयात गर्दा प्रतिलिटर १ रुपैयाँ ५० पैसा ढुवानी खर्च बचत हुनेछ ।
अहिले पेट्रोल टं्याकरमार्फत ढुवानी भइरहेको छ । निगमले अहिले दैनिक २० लाख लिटर पेट्रोल आयात गर्ने गरेकामा पाइपलाइनबाट ७० प्रतिशत पेट्रोल आयात हुनेछ ।
त्यसअनुसार करिब दैनिक १४ लाख लिटर पेट्रोल आयात पाइपलाइनबाट हुनेछ । यसबाट निगमको दैनिक करिब २१ लाख रुपैयाँ बचत हुने रिजालले जानकारी दिए ।
वार्षिक रुपमा करिब ६० देखि ७० करोड रुपैयाँ बचत हुनेछ ।
निगमका अनुसार मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दूरी ६९.२ किलोमिटर छ, यसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर हो ।
अहिले पाइपलाइनबाट दैनिक ५ हजार किलोलिटर डिजेल आयात भइरहेको छ । निगमका अनुसार पाइपलाइनबाट डिजेल आयात गर्दा वार्षिक करिब साढे २ अर्ब ढुवानी बचत हुन्छ ।
निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो ।
सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण सुरु भएको थियो ।
परियोजनाको दोस्रो चरणअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्यांक, दुई सय ५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशाला निर्माण गर्ने थियो ।
निगमका अनुसार पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्नेछ ।
यो परियोजना सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोलिटर पुगेको छ भने पेट्रोलको भण्डारण क्षमता १६ हजार ६ सय ३० किलोलिटर पुग्नेछ ।
करिब ९० दिनका लागि इन्धन भण्डारण गर्ने सरकारको नीतिअनुसार निगमले थप ५-५ हजार किलोलिटर क्षमताका दुई ट्यांकी निर्माण गरिरहेको छ ।
उक्त निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । उक्त ट्यांकीमा ५ हजार किलोलिटर पेट्रोल भण्डारण गरिनेछ भने ५ हजार डिजेल भण्डारण गरिनेछ ।
पाइपलाइन परियोजनाको निर्माण आईओसीले गरेको थियो । परियोजना करिब चार अर्ब ४० करोड रूपैयाँ लागतमा बनाइएको थियो ।
यसमा भारतले तीन अर्ब २० करोड रूपैयाँ अनुदान दिएको थियो भने एक अर्ब २० करोड रूपैयाँ नेपालले लगानी गरेको थियो ।
Visit homepage : eautonepal.com