मुख्य राजमार्गको बिजोग

बुटवलदेखि नारायणगढसम्मको जम्मा दुरी हो– १ सय १४ किलोमिटर। यति बाटो छिचोल्न कति समय लाग्ला ? २ घण्टा वा ३ घण्टा ? दाउन्नेमा अलि अप्ठ्यारो बाटो छ, आधा घण्टा थप छुट्याऔं।

त्यसो हुँदा साढे तीन घण्टामा यो बाटो छिचोलिनुपर्ने हो। साढे तीन घण्टा त परै जाओस, ६ घण्टामा यो बाटो पार गर्न सकियो भने आफूलाई ‘धन्य’ मान्नुपर्छ।

कुनै–कुनै बेला त पूरै दिन वा रात भर यो सडकमा बिताउँछन्, यात्रीहरू। बर्खामा हिलै हिलो, हिउँदमा धुलोको बादल। कतिखेर कुन खाल्डोमा परिने हो, उस्तै चिन्ता।

यस्तो सास्ती व्यहोर्नुपरेको दिन होइन, महिना होइन, ६ वर्ष भयो। यो सडक निर्माण थालेदेखि नै यात्रीले निकै कष्ट व्यहोर्नु परिरहेको छ।

६ वर्षमा आधाजसो मात्रै निर्माण कार्य सम्पन्न भएकाले अझ कति वर्ष कष्ट व्यहोर्नुपर्ने हो ? यसै भन्न कठिन छ।

पश्चिम नेपालका नागरिकहरूको ‘लाइफलाइन’ का रूपमा रहेको यस सडकको निर्माणले गति नलिँदा नागरिकहरूको दैनिकीसमेत तहसनहस बनेको छ।

सडककै दुर्दशाले व्यवसायीले अर्बौंको नोक्सानी बेहोर्नुपरेको गुनासो गर्छन्।

दोस्रोपटक म्याद थप गर्दासमेत योजना पूरा नभएपछि निर्माण कम्पनीले तेस्रोपटक म्याद थपको काम अगाडि बढाएको छ।

तर, फेरि थपिएको म्यादमा पनि नागरिक सडक निर्माण पूरा हुनेमा विश्वस्त छैनन्।

पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म यसै सडक भएर सानाठूला गरी दैनिक हजारौं सवारीसाधन ओहोर-दोहोर गर्छन्।

निर्माण कम्पनी र कार्यान्वयन गर्ने निकायको ढिलासुस्तीका कारण यो सडक योजनाले चाहेअनुसार गति लिन नसकेको नागरिकको गुनासो छ।

रुपन्देहीको बुटवलदेखि चितवनको नारायणगढसम्मको दुरी १ सय १३ दशमलव ५ किलोमिटर छ।

गैंडाकोटदेखि दुम्कीबाससम्मको ६५ किलोमिटरलाई पूर्वी खण्ड र बुटवलदेखि दाउन्नेसम्मको दुरीलाई पश्चिम खण्डका रूपमा विभाजन गरेर काम थालिएको छ।

यी दुवै खण्डमा गरेर हालसम्म करिब ५३ प्रतिशत मात्र भौतिक प्रगति भएको दुवै खण्डका आयोजना कार्यालयहरूले जनाएका छन्।

दुवै खण्डको निर्माणका लागि चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीइसी–चाइना) सँग सम्झौता गरिएको छ।

आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सडक विभागले योजना सञ्चालन गरेको हो।

६ वर्षको अवधिमा ५३ प्रतिशत मात्र निर्माण गरिएको यो योजनालाई अबको एक वर्ष अर्थात् २०८२ साउन ६ गतेसम्म सक्ने गरी तेस्रोपटक म्याद थपिएको छ।

थपिएको एक वर्षमा दुवै खण्डमा गरी बाँकी रहेको ४७ प्रतिशत काम कसरी पूरा होला ? भन्नेमा नागरिक विश्वस्त देखिँदैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *