सर्वाधिक तेल बिक्री गर्ने पेट्रोल पम्प

काठमाडौंको भद्रकालीस्थित नेपाल आर्मीले सञ्चालन गरेको रिपुमर्दिनी पेट्रोल स्टेसनले गत आर्थिक वर्ष ०८०–८१ मा सबैभन्दा बढी एक अर्ब ६६ करोड ९६ लाख ६१ हजार तीन सय ८९ रुपैयाँको पेट्रोल र डिजेल आयल निगमबाट खरिद गरेको छ।

निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटबाट रिपुमर्दिनीले १ करोड ३ लाख लिटर पेट्रोल र डिजेल खरिद गरेकाे हो।

खरिद मूल्यमा पेट्रोलमा ३.३९५ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत नाफा राखेर बिक्री मूल्य निर्धारण हुने व्यवस्था छ।

काठमाडौंका अधिकांश सरकारी कार्यालयका कुपनमा आधारित सवारीसाधनमा रिपुमर्दिनीले तेल हाल्ने गरेको छ भने निजी सवारीसाधनको पनि नियमित रूपमा बाक्लो लाइन हुने गरेको छ।

रिपुमर्दिनी ५ वर्षअघि पनि सर्वाधिक इन्धन बिक्री गर्ने पम्पको सूचीमा पहिलो भएको थियो। त्यसयता भने बारा, पथलैयास्थित नेपाल प्रहरीले सञ्चालन गर्दै आएको पम्पले पहिलो स्थान हासिल गर्दै आएको थियो।

अघिल्लो वर्ष ०७९–८० मा भने धादिङको निलकण्ठस्थित भैरवी इन्टरप्राइजेजले एक अर्ब ७९ करोडको इन्धन कारोबार गर्दै पहिलो भएको थियो। दुई वर्षअघिको तुलनामा गत वर्ष पेट्रोलियमको मूल्यमा गिरावट आएकाले कुल कारोबार रकम घट्न पुगेको हो।

गत आर्थिक वर्षमा धेरै तेल बिक्री गर्ने पम्पको सूचीमा चितवनको नारायणगढस्थित कैलाश आयल दोस्रो स्थानमा छ।

कैलाश आयलले एक अर्ब ५७ करोड ६८ लाख ८८ हजार ९ सय ३० रुपैयाँको इन्धन निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जबाट खरिद गरेको थियो।

कैलाश आयल निजी क्षेत्रबाट सञ्चालित देशभरमै सबैभन्दा बढी इन्धन बिक्री गर्ने पम्प हो।

ठूलो संख्यामा लामो तथा छोटो रुटमा गुड्ने सार्वजनिक सवारीसाधनले कैलाश आयलबाट नियमित रूपमा इन्धन भर्ने गरेका छन्।

नारायणी पुलसँगै रहेको पम्प नियमित रूपमा अत्यन्त व्यस्त हुने गरेको छ। कैलाश आयल प्रत्येक वर्ष दोस्रो वा तेस्रो स्थानमा रहँदै आएको छ।

दुई वर्षअघि सर्वाधिक कारोबार गरेको धादिङ निलकण्ठको भैरवी इन्टरप्राइजेज भने तेस्रो स्थानमा झरेको छ। भैरवीले गत आवमा एक अर्ब ५३ करोड ९४ लाख ९३ हजार ८ सय ७९ रुपैयाँको इन्धन खरिद गरेको निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जले जनाएको छ।

त्यस्तै, विगतका वर्षमा पहिलो हुँदै आएको बाराको पथलैया चोकमा सञ्चालित नेपाल प्रहरीको पम्प १ अर्ब ५१ करोड ३९ लाख ६६ हजार २ सय ९७ रुपैयाँको कारोबार गर्दै गत आवमा चौथो स्थानमा खस्केको छ।

यो पम्पले नेपाल–भारतका मालबाहक कन्टेनर र ठूला ट्रकमा इन्धन भर्ने गरेको छ। तर, गत आवमा भारतको तुलनामा नेपालमा पेट्रोलियमको मूल्य समान वा महँगो भएको हुँदा भारततर्फ जाने मालबाहक कन्टेनर र ट्रकले भारतकै पम्पमा इन्धन भरेर आएकाले पथलैयास्थित प्रहरी पम्पको कारोबार खस्केको हो।

ललितपुरको पुल्चोकस्थित साझा सेवा सहकारी संस्थाले सञ्चालन गरेको पम्प पाँचौँ स्थानमा छ। यो पम्पले गत आवमा एक अर्ब ४७ करोड ७३ लाख २४ हजार दुई सय ७५ रुपैयाँको इन्धन निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटबाट खरिद गरेको छ।

गत आवमा धेरै कारोबार गर्ने पम्पको सूचीमा भक्तपुर फ्युल सेन्टर छैटौँ र बुटवलको मिलन ब्रोदर्स सातौँ स्थानमा रहेका छन् । भक्तपुर फ्युल सेन्टरले एक अर्व ३४ करोड र बुटवलको मिलन ब्रोदर्सले एक अर्ब ३१ करोड ६१ लाखको कारोबार गरेका छन् ।

चितवनको बाइसमा सञ्चालित साझा पेट्रोल पम्प, काठमाडौं –१६ मा रहेको सत्यनारायण पम्प, नक्सालस्थित प्रहरी कल्याण कोष पम्प र तनहुँको दमौलीमा सञ्चालित सुगम आयल सप्लायर्स क्रमशः आठौँ, नवौँ, दसाैँ  र ११औँ स्थानमा छन्। यी सबै पम्पले एक अर्ब रुपैयाँभन्दा बढीको इन्धन खरिद गरेर लगेको आयल निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *