नेपाल आयल निगमको नाफा १० अर्ब

नेपाल आयल निगम लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ मा करिब १० अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ ।

आयल निगमको अर्थ विभाग नेतृत्व गरिरहेका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार प्रारम्भिक हिसाबमा १० अर्ब रुपैयाँ नाफा आर्जन देखिएको हो ।

उनका अनुसार अघिल्लो आव ०७९/८० को तुलनामा गत आवमा गरेको नाफा कम हो । अघिल्लोपटक निगमले ११ अर्ब ७२ करोड ३० लाख रुपैयाँ नाफा गरेको थियो ।

‘पेट्रोलियम पदार्थको आयात परिमाण २–३ प्रतिशतले बढेको छ, तर विगतको भन्दा खरिद मूल्य घटेका कारण समग्र कारोबार र नाफा रकम केही कम भएको देखिन्छ,’ उनले भने ।

गत आवमा तीन खर्ब ६४ अर्ब रुपैयाँको कारोबार भएको पनि उनले जानकारी दिए । ‘अघिल्लो आव ०७९/८० मा भने तीन खर्ब ८३ अर्ब रुपैयाँको कारोबार भएको थियो,’ साहले भने ।

पेट्रोलियम पदार्थको खपत बढे पनि कारोबार रकम घट्नुमा अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यको गिरावट प्रमुख कारण हो ।

गत आवको सुरुमा कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा ७६ डलर प्रतिब्यारेलआसपास थियो भने आवको अन्त्यमा ८१ डलर प्रतिब्यारेलआसपास थियो ।

तर, अघिल्लो आव ०७९/८० को सुरुवातमा ९२ डलर प्रतिब्यारेल पुगेको कच्चा तेलको मूल्य सोही आवको अन्त्यसम्मा ७६ डलरआसपास आइपुगेको थियो ।

एक वर्षअघिको तुलनामा गत आवको खरिद लागत नै घटेका कारण आयात परिमाण थोरै बढे पनि समग्र कारोबार रकम भने घटेको साहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *