‘रोयल इन्फिल्ड पोकर रन नेपाल’ चैत ३० गते

आगामी चैत ३० गते १४औं संस्करणको ‘रोयल इन्फिल्ड पोकर रन नेपाल’ शुरु हुने भएको छ ।

काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको प्रांगणबाट शुभारम्भ हुने सो पोकर रनमा विभिन्न रङ, बनावट र सजावट भएका रोयल इन्फिल्ड मोटरसाइकल सहभागी हुनेछन् ।

स्याक्रेड समिटको आयोजनामा हुने सो पोकर रनलाई रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभको मुख्य प्रायोजन रहेको छ भने नेपाल पर्यटन बोर्ड, नेपाल पर्यटन बोर्ड पोखरा र पोखरा पर्यटन परिषदको संबद्धता तथा रेड बुल इनर्जी ड्रिंक, डाबर नेपाल रियल जुस र कवच राइडिङ गियरको सह–प्रायोजन र अन्य धेरैको साथ सहयोग रहेको छ ।

यस सम्बन्धी जानकारी दिनका लागि आयोजित एक कार्यक्रममा स्याक्रेड समिटका सीईओ रवि थापाले पहिले २२ वटा मोटरसाइकलबाट सुरुवात गरिएको सो इभेन्टमा कुनै समयमा ४ सय भन्दा बढी मोटरसाइकल पुगेका र हाल १५० हाराहारी पुग्ने अपेक्षा गरिएको बताए ।

अल्फा अटोमोटिभका डाइरेक्टर मेघराज पौडेलले सो इभेन्टबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नुका साथै सेफ्टी राइडिङ र भाइचाराको सम्बन्ध विकास हुने बताए ।

फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपाल (फोरे नेपाल) का अध्यक्ष सुनिल मानन्धरले सबैलाई सो विशेष इभेन्टमा सरिक हुन आह्वान गर्दै यो राइडरहरुका लागि एक अविस्मरणिय इभेन्ट हुने गरेको बताए ।

काठमाडौंबाट सुरुवात भई करिव २०० किलोमिटरको दुरी पार गरी पोखरा पुगेर लेकसाइडस्थित होटल ल्यान्डमार्कमा त्यो रातको बास, गाँस र चास अर्थात मधुशाला, पार्टी र मनोरञ्जनको व्यवस्था हुनेछ ।

कार्यक्रमकै अंश अनुरुप चैत ३० का दिन लाइभ कन्सर्ट, डिजे सेसन लगायतका कार्यक्रम गरी सहभागीलाई भरपुर मनोरञ्जन प्रदान गरिन्छ ।

यस पटकको कार्यक्रममा नेपाल, भारत, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, अष्ट्रिया लगायत संसारका विभिन्न देशबाट आएका मोटरसाइकल यात्री सम्मिलित १५० को हाराहारीमा सहभागी रहने बताइएको छ ।

भारतमा हुने निर्वाचनका कारण सहभागीको संख्यामा असर पर्न सक्ने स्याक्रेड समिटका सीईओ रवि थापाले बताए ।

कार्यक्रममा सहभागीहरुलाई विभिन्न प्रकारका रोचक पुरस्कारको समेत व्यवस्था गरिने छ । यसमा बेस्ट पोकर ह्यान्ड, बेस्ड इन्फिल्ड अवार्ड, सपोर्टिङ वुमन राइडर, सिनियर सिटिजन अवार्ड, लङ डिस्टेन्स राइडर र यात्रा अवधिभर धेरै दुःख दिने मोटरसाइकललाई हार्ड लक अवार्ड प्रदान गरिने छ ।

बैशाख १ गतेका दिन सबै सहभागीहरु पोखराको संघ अन्नपूर्ण बाल गृहमा गएर विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गर्ने गरिन्छ ।

यस प्रकारको रोचक कार्यक्रमको परिकल्पना गरी त्यसलाई साकार रुप दिने श्रेय स्याक्रेट समिट्स प्रालिका सीईओ रवि थापालाई जान्छ । रवि थापा र उनको कम्पनी स्याक्रेड समिट्स प्रालिलाई यो एउटा कार्यक्रम मात्र नभई सम्पूर्ण हिमालय क्षेत्र अर्थात नेपाल, भारत, चीनको तिब्बत र भुटानको मोटरसाइकल टुरिजमको जन्मदाता नै मानिन्छ ।

दिवंगत राइडर मित्र विनोद आचार्य क्षेत्रीको सम्झनामा रवि थापा र अष्ट्रेलियामा एन्जाक डे हार्ले डेभिडसन पोकर रन अफ अल्बरी सञ्चालक स्टुअर्ट म्याक्लिन मिलेर सन् २००९ मा जम्मा २२ जना मोटरबाइक राइडरहरुको सहभागितामा यस प्रकारको कार्यक्रम नेपालमा सुरुवात गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *