इम्बोस्ड नम्बर प्लेटमा विभिन्न समस्या

इम्बोस्ड नम्बर प्लेटको जडान मूल्यदेखि यसको गुणस्तरसम्ममा विभिन्न समस्या देखिएका छन् ।

इम्बोस्ड नम्बर प्लेट जडानको शुल्क महँगो भएको भन्दै सेवाग्राहीको चर्को गुनासो छ ।

जडानमा ढिलाइ हुनुमा यसको चर्को शुल्क पनि कारण देखिएको छ ।

सम्झौताअनुसार इम्बोस्ड जडान गर्दा दुईपांग्रे सवारीका लागि दुई हजार ५००, तीनपांग्रे सवारीको दुई हजार ९००, चारपांग्रे (साना तथा मझौला) सवारीको तीन हजार २०० र ठूला सवारीको तीन हजार ६०० रुपैयाँ शुल्क बुझाउनुपर्छ ।

इम्बोस्ड प्लेटका लागि उपभोक्ताले तिर्ने यो मूल्यको ठूलो रकम आपूर्तिकर्ताले लग्ने व्यवस्था गरिएको छ ।

दुईपांग्रे, तीनपांग्रे, साना तथा मझौला र ठूला सवारीमा सरकारले क्रमशः ६ सय, ६०७, ८८० र १११० रुपैयाँ सरकारले लिन्छ र बाँकी आपूर्तिकर्ता कम्पनीले लग्ने व्यवस्था छ ।

खासगरी मोटरसाइकल र चारपांग्रे सवारीसमेतमै पनि जडान गरिएका इम्बोस्ड नम्बर प्लेट झर्ने, च्यातिने, कोतरिनेजस्ता समस्या देखिएका छन् ।

यसले इम्बोस्डको गुणस्तरमा प्रश्नचिह्न खडा गरेको छ , त्यस्तै इम्बोस्डमा जडान गरिने प्रविधिबारे पनि प्रश्न छ ।

इम्बोस्डमा आरएफआइडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) प्रविधि जडान गरिएको छ ।

इम्बोस्डमा आरएफआइडी प्रविधियुक्त चिप्स राखिएको हुन्छ ।

तर, यसमार्फत परीक्षणका लागि आरएफआइडी गेट आवश्यक हुन्छ । गेटमा पुगेपछि त्यसले सवारीको पहिचान गर्छ ।

गेट नभएको अवस्थामा आरएफआइडीले काम गर्दैन । तर, यो प्रविधि पुरानो र तुलनात्मक रूपमा कम भरपर्दो मानिन्छ ।

पछिल्लो समय जिपिएसमा आधारित प्रविधि सर्वव्यापी छ । जिपिएसले स्याटेलाइटमार्फत काम गर्ने भएकाले यो भरपर्दो मानिन्छ ।

कम भरपर्दो र बढी लागत चाहिने आरएफआइडी प्रविधि नै किन अँगालियो भन्ने पनि प्रश्नको घेरामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *