विद्युतीय गाडीको आयातमा वृद्धी

पेट्रोल र डिजेलबाट चल्ने ४ पांग्रे साना सवारी साधनको तुलनामा विद्युतीय गाडीको आयात बढेको छ ।

अघिल्लो वर्षदेखि विद्युतीय गाडीको बिक्री बढेसँगै आयात बढ्न थालेको हो ।

 

भैरहवा नाका हुँदै अहिले पेट्रोल डिजेलबाट चल्ने कार जीप भन्दा विद्युतीय गाडीको आयात २५ प्रतिशत बढीले वृद्धी भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।

तथ्यांक अनुसार यो नाका हुँदै गत वर्षदेखि नै इन्धनबाट चल्ने साना ४ पांग्रे सवारी साधनको तुलनामा विद्युतीय कार जीपको आयात बढ्दै गएको छ ।

भन्सारका अनुसार चालु वर्षको साउनदेखि माघसम्म २०६६ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको छ ।

ती साधनको मूल्य ४ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।

त्यसता साधन आयात हुँदा राजस्व भने १ अर्ब ३८ करोड संकलन भएको छ ।

इन्धनबाट चल्ने सवारी साधनका तुलनामा विद्युतीय कार जीपको कर कम छ ।

सोही अवधिमा यो नाका हुँदै पेट्रोल डिजेलबाट चल्ने १ हजार ५०९ वटा कार, जीप र भ्यान आयात हुँदा राजस्व ४ अर्ब २५ करोड ६३ संकलन भएको थियो ।

ती सवारीका मूल्य १ अर्ब ६६ करोड रहेको पनि तथ्यांकले देखाएको छ ।

अघिल्लो वर्षको यही अवधिमा कार जीपको आयात ५६० वटा थियो ।

गत वर्षको ७ महिनाको तुलनामा चालु वर्ष इन्धनबाट चल्ने ४ पांग्रे सवारी साधनको आयात तेब्बर बढी भए पनि विद्युतीय कार जीपको आयातलाई भने उछिन्न सकेको छैन ।

आर्थिक वर्ष २०७९/८०मा विद्युतीय कार जीप ६ अर्ब १४ करोड मूल्यका २ हजार २७० वटा भैरहवा नाका हुँदै भित्रिएको थियो ।

सो वापत १ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

सोहि वर्ष पेट्रोल डिजलबाट चल्ने जीप, कार र भ्यान १ अर्व ९३ करोड रुपैयाँ बराबरको १ हजार ६३१ वटा आयात भएको थियो ।

यी साधनमा ४ अर्ब ९१ करोड बढी राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

विद्युतीय गाडीको तुलनामा इन्धनबाट चल्ने गाडीका करका दरहरु अधिक छन् ।

त्यसैले भारतमा सस्तोमा पाइने गाडी नेपाल भित्रिदा अढाई गुणासम्म महँगो हुने गर्छ ।

इन्धनबाट चल्ने कार जीपमा भन्सार शूल्क ८० प्रतिशत, अन्तशूल्क ६५ प्रतिशत, मु.अ.कर १३ प्रतिशत र सडक विकास कर ५ प्रतिशत लाग्छ ।

कार, जीप भ्यानको इन्जिन क्षमता र सिट संख्याका आधारमा महसुल लाग्ने भन्सार एजेन्ट महासंघका सचिब कृष्णप्रसाद घिमिरेले बताए ।

त्यसैगरी विद्युतीय कार जीपमा भने भन्सार शूल्क १५ प्रतिशत, अन्तशूल्क शून्य प्रतिशत, मूल्य अभिवृद्धी कर १३ प्रतिशत र सडक विकास कर ५ प्रतिशत लाग्छ ।

अन्त:शूल्क नलाग्ने र भन्सार शूल्क पनि न्यून भएका कारण विद्युतीय कार जीप सस्तोमा नेपाल भित्रने गर्छ ।

नेपालका अन्य नाकाहरुबाट पनि विद्युतीय कार जीप बढी भित्रिरहेको घिमिरे बताउँछन् ।

इन्धनबाट चल्ने कार जीप भने नेपालमा बुकिङ भएपछि मात्रै भारतमा भण्डारण गरी राखिएको स्थानबाट भन्सार गराउन पठाउने गरिन्छ ।

पहिला धेरै गाडी भन्सार आयातकर्ताले एकै लटमा ल्याउने गथ्र्ये ।

तर, अहिले गाडी बिक्न छाडेपछि आवश्यकता अनुसार मात्रै भन्सारबाट छुटाउने गरिन्छ ।

इन्धनबाट चल्ने कार जीपको भन्दा मूल्यमा कम, एक पटक चार्ज गरेपछि कम्तिमा ३ सय किमीसम्म सजिलै चल्ने र पहिलेभन्दा बढी चार्जिंङ स्टेशन राजमार्गका साथै सहर बजारमा, होटलहरुमा, सर्भिस सेन्टरमा समेत उपलब्ध हुन थालेपछि यसतर्फ उपभोक्ताको आकर्षण बढेको मोरिस ग्यारेजका सञ्चालक हरि थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *