स्थानीयको अवरोधका कारण एक महिनादेखि रोकिएको नागढुंगा–सिस्नेखोला सुरुङको काम सुचारु हुने भएको छ ।
चन्द्रागिरी नगरपालिका–२ का स्थानीयले ६ बुँदे माग राख्दै सुरुङमार्गको धादिङ र काठमाडौं दुवैतिर फागुन ६ देखि काम ठप्प पारेका थिए ।
१४ मिटरमात्र खन्न बाँकी सुरुङको ब्रेकथ्रु फागुन २३ मा गर्ने योजना थियो ।
सोमबार स्थानीयबासी र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसँगबीच भएको वार्ताबाट काम सुचारु गर्ने मौखिक सहमति जुटेको हो ।
९ बुँदे सहमतिमा आज हस्ताक्षर हुने बताइएको छ ।
सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख विजय जैसीका अनुसार आयोजनाको कामले मंगलबारबाट गति लिनेछ ।
उनले भने, ‘स्थानीयका माग सम्बोधन गर्ने सहमति भएको छ, मंगलबारबाट काम सुरु हुन्छ ।’
चन्द्रागिरी नगरपापालिका–२ का स्थानीयले खानेपानी व्यवस्थापन, सिँचाइ सुविधा, सुरुङमार्ग सञ्चालनमा प्राप्त हुने रोजगारीमा स्थानीयलाई अवसर दिने र स्थानीयका क्षेत्रमा आगामी बजेटमा व्यवस्था गरेर सडक निर्माण गर्नुपर्ने माग राखेका थिए ।
नागढुंगा सुरुङमार्ग आयोजना प्रभावित खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोपी सुर्खेतीले स्थानीयका माग करिब–करिब सम्बोधन भएको र केही बुँदामा संशोधनका लागि मंगलबारसम्म समय लिएको बताए ।
उनले भने, ‘स्थानीयको माग सम्बोधन भएको छ । आयोजनाको काम मंगलबार दुई पक्षबीच हस्ताक्षर भएपछि अगाडि बढ्छ ।’
स्थानीयको माग सम्बोधन गर्ने प्रतिबद्धता मन्त्री महासेठले जनाएपछि काम नरोकिने वातावरण बनेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर गोविन्द दुमरुले बताए ।
एक महिनासम्म आयोजना ठप्प हुँदा कति समय थप गर्नुपर्छ र आर्थिक भार कति बढ्छ भन्ने अध्ययन र छलफलबाट तय हुने महाशाखा प्रमुख जैसीको भनाइ छ ।
यो आयोजना सुरु गर्दा महासेठ नै विभागीय मन्त्री थिए ।
अहिले सुरुङ ब्रेकथ्रु हुने बेला पनि उनी नै मन्त्री बनेका छन् ।
स्थानीयले आन्दोलन गर्दा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला थिए । आयोजनाको शिलान्यास भने तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका थिए ।
काठमाडौं–धादिङ जोड्ने यो सुरुङमार्ग २ हजार ८८८ मिटर लामो छ ।
आयोजना शिलान्यास भएको १४ महिनापछि निर्माण थालिएको थियो ।
सुरुको लक्ष्यअनुसार काम भएको भए २०२३ अप्रिल २६ मा आयोजना पूरा हुनुपथ्र्यो ।
तर, लक्ष्यअनुसार काम नभएपछि आउँदो अप्रिल २५ सम्म म्याद थप गरिएको छ ।
समयमा काम नहुनुमा कोभिड महामारी, भारतीय नाकाबन्दी र स्थानीयवासीको पटक–पटकको अवरोध थप कारण बनेको छ ।
अहिलेसम्म आयोजनाको समग्र भौतिक प्रगति ६९.१५ प्रतिशत मात्रै भएको छ ।
यो आयोजना जापानको हाज्मा आन्दो कर्पोरेसनले बनाउन सुरु गरेको हो ।
नेपाल र जापानको करिब २२ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको सुरुङमार्गले थानकोटदेखि धादिङको सिस्ने खोलासम्म जोड्नेछ ।
काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६८८ मिटर हो ।